वनभोज खान गएको सरकारी कार दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं । प्यूठानमा वनभोज खान गएको सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वनभोज खान जाने क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटना हुँदा दाङ तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको मृत्यु भएको हो ।

खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन् ।

कार पुनः कर्मचारी ओसार्न खलंगा झर्दै गर्दा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक देवी प्रसाद गैरेका अनुसार कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्