शान्ति मिसनमा सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल तेस्रो

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल तेस्रो स्थानमा पुगेको छ । ६४ वर्षदेखि शान्ति स्थापक मिसनमा सहभागी हुँदै आएको नेपाल यसअघि चौथो स्थानमा थियो । यसअघि तेस्रो ठूलो संख्या रुवाण्डाको रहेकोमा चौथो भएको छ ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार विश्वका शान्ति स्थापक १४ मिसनमा हाल पाँच हजार ६ सय ८६ जना सुरक्षाकर्मी कार्यरत छन् ।

शान्ति स्थापक मिसनमा सशस्त्र प्रहरी पाँच सय १७ जना र नेपाल प्रहरीका ४० जनासमेत कार्यरत छन् । प्रवक्ता पौडेलका अनुसार सेना, सशस्त्र र नेपाल प्रहरीका सबै जनशक्ति मिलाएर पाँच हजार ६सय ८६ पुगेको हो ।

शान्ति स्थापक मिसनमा सबैभन्दा बढी सेना पठाउने मुलुक बंगलादेश हो । बंगलादेशका ६ हजार ६ सय २६ जना सुरक्षाकर्मी शान्ति स्थापक मिसनमा कार्यरत छन् ।

इथियोपियाका ६ हजार एक सय १३ जना सुरक्षाकर्मी पनि मिसनमा कार्यरत छन् । नेपालपछि चौथो स्थानमा रुवाण्डा छ । रुवाण्डाका पाँच हजार ६ सय चार सुरक्षाकर्मी मिसनमा कार्यरत छन् ।

छिमेकी भारत रुवाण्डापछि पाँचौँ स्थानमा छ । भारतका पाँच हजार पाँच सय ४८ सुरक्षाकर्मी मिसनमा कार्यरत छन् । भारतपछि धेरै सुरक्षाकर्मी पठाउने मुलुकहरूमा पाकिस्तान, इन्डोनेसिया, इजिप्ट र चीन छन् ।

नेपालले अधिकतम १० हजार सुरक्षाकर्मी शान्ति स्थापक सेनामा पठाउन सक्ने जानकारी संयुक्त राष्ट्रसंघलाई यसअघि नै पठाइसकेको छ ।

तस्विर : सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलकाे ट्विटरबाट

कमेन्ट गर्नुहोस्