निर्वाचन आयोग पुगेर यादवले गरे आधिकारिकताको दावी, ठाकुर पक्ष संकटमा

काठमाडौं । कार्यकारिणी समितिका बहुमत सदस्यको निर्णयसहित जसपा अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता प्रदान गर्न निर्वाचन आयोगसँग अनुरोध गरेका छन् ।

जनता समाजवादी पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीच आधिकारिताको लडाईमा निर्वाचन आयोगले निष्पक्ष र कानुनसम्मत निर्णय गर्नुपर्ने यादव समूहको माग छ ।

यादवको पक्षमा केन्द्रीय कार्यकारिणी समितिमा स्पष्ट बहुमत रहेको छ । यादव शुक्रबार पार्टी कार्यकारिणी समितिका बहुमत सदस्यले गरेको निर्णयसहित आयोग पुगेका छन् ।

यादव पक्षले दलको विधान, संविधान र राजनीतिक दलसम्बन्धी कानुनअनुसार आधिकारिकता पाउनुपर्ने माग गरेकाे छ ।

आयोगले भने उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरेको कारबाहीसम्बन्धी विवरण अद्यावधिक गर्न अस्वीकार गर्नुकाे साथै ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको निर्णयलाई पनि मान्यता दिएको थिएन ।

‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४, दलको अन्तरिम विधान २०७७ (संशोधनसहित) समेतको अनुकूल संचालन गर्न गराउन आवश्यक भएकोले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को (ग) बमोजिम अधिकारिकताको लागि दफा ४४ (१) बमोजिमको अधिकारीक निर्णय आवश्यक भएकोले दफा ४४ उपदफा (२), (३), (५), ६) (७) दफा ४५, ४६ (१), (२) बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी अधिकारिकताको लागि जनता समाजवादी पार्टी, नेपालको कार्यकारणी समितिको मिति २०७८/३/३ को निर्णयबमोजिम लिखित दाबी पेस गरेका छौं,’ यादव पक्षको आधिकारिकताको दाबी पत्रमा उल्लेख छ ।

यादव पक्षले पार्टी सञ्चालनमा ठाकुर पक्षले अवरोध गरेको आरोप लगाएको छ । बारम्बार बैठकमा अनुपस्थित हुने, फरक सूचना जारी गरेर बैठक स्थगित गरेको निर्णय लेख्ने लगायतका काम ठाकुर पक्षबाट भएको र त्यसले पार्टीको आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारेको यादव पक्षको भनाइ छ । पार्टीलाई दूरगामी प्रभाव र क्षति हुनेगरी ठाकुरले काम गरेको पनि यादवले आयोगलाई बुझाएको पत्रमा लेखेका छन् । ‘पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी दलको गतिविधिमा दुरगामी प्रभाव र क्षति हुने गरी पार्टीलाई विभाजनको तहसम्मको एकपक्षीय रुपमा गुट-उपगुट बनाई विधानविपरीत एकपछि अर्को कार्य गरी आएकोले यस्तो कार्यलाई तत्काल रोक्न र पार्टीलाई कानुनसम्मत, विधिसम्मत संचालन गरी पार्टीलाई जनमत र बहुमतको आधारमा संचालनको लागि, ‘आधिकारिकता दाबी गर्नुपरेको यादवको तर्क छ ।

कमेन्ट गर्नुहोस्