जिल्ला प्रशासनको चेतावनी- मेलम्ची बाढीपीडितका नाममा चन्दा संकलन गरे २ वर्षसम्म जेल तथा १ लाखसम्म जरिवाना !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले मेलम्ची बाढीपीडितका नाममा चन्दा वा सहयोग संकलन तथा कालोबजारी गरेको पाइएमा २ वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले यस्तो चेतावनी दिएको हो । शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८४१३९२८८३० मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ।’

याे पनि पढ्नुस  मेलम्चीबारे श्वेतपत्र जारीः असार मसान्तमा पानी झर्ने, ९५ प्रतिशत काम सम्पन्न

कमेन्ट गर्नुहोस्