टोपबहादुर र प्रभ शाह अकस्मात निर्वाचन आयोगमा, झस्किए आयोगको कुरा सुनेर…

काठमाडौं । नेकपा एमालेभित्रको विवादका कारण पार्टीविहिन बन्न पुगेका एमालेका गएका पूर्व माओवादी नेताहरुमध्ये टोपबहादुर र प्रभु शाह शुक्रबार अकस्मात निर्वाचन आयोग पुगेको खबर सार्वजनिक भएको छ ।

एमालेमा प्रवेश गरेर स्थायी कमिटि सदस्यमा मनोनित भएपनि राजनीतिक घटनाक्रमसँगै उनीहरु पार्टीविहिन हुन पुगेका थिए । सर्वोच्च अदालतले नेकपा विभाजनपछि भएगरेका काम कारवाही वैध नहुने निर्णय गरेपछि माओवादीबाट एमाले बनेकाहरु पदविहिन बन्न पुगेका थिए ।

शुक्रबार आयोग पुगेका रायमाझी र शाहले आफूहरु कुन पार्टीमा छौं भनेर बुझ्न खोजेका थिए ।

निर्वाचन आयोगको जवाफ सुनेर भने उनीहरु झनै चकित बने ।

निर्वाचन आयोगको रेकर्डमा उनीहरु अझै माओवादी केन्द्रीय समितिमा नै रहेको जानकारी पाएका थिए ।

आयोग पुगेर उनीहरुले माओवादीले केन्द्रीय समितिबाट के आरोपमा हटाएको रहेछ भन्दै सोधखोज गरेका थिए । साथै, उनीहरुले आफ्नो नाम एमालेको केन्द्रीय कमिटीमा दर्ता छ कि छैन भन्नेसमेत बुझेका थिए ।

उनीहरुलाई लागेको थियो कि एमालेको थपिएको केन्द्रीय समितिमा उनीहरुको नाम होला । तर अवस्था ठ्याक्कै उल्टो देखियो ।

पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीसमेत माओवादीबाट निर्वाचित चारजना प्रतिनिधि सभाका सदस्यहरु गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेतिर लागेका थिए । फागुन २८ गते उनीहरुलाई नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । उसैदिन केन्द्रीय कमिटी भंग भई दशौं महाधिवेशन आयोजक कमिटी बनेको थियो ।

महाधिवेशन आयोजक कमिटीमा मनोनित भएका पूर्वमाओवादी नेताहरुको नाम निर्वाचन आयोगले अहिलेसम्म एमालेको केन्द्रीय कमिटीमा दर्ता गरेको छैन ।

अर्कोतिर, आयोगमा रहेको माओवादीको केन्द्रीय कमिटीको सूचीमा टोपबहादुर, लेखराज भट्ट र प्रभु साहको नाम यथावतै रहेको आयोगले जानकारी गराएको छ ।

‘टोपबहादुरजी र प्रभु साहजी आयोगमा आउनुभयो, हामीलाई माओवादीले के आधारमा हटाएको रहेछ, कागजात हेर्नुपर्यो भन्नुभयो,’ आयोगका एक कर्मचारीले रातोपाटीसँग भने, ‘माओवादीको रेकर्डमा हेर्दा उहाँहरुलाई पार्टीबाट हटाएको पत्र अहिलेसम्म आयोगमा आएको पाइएन, दल दर्ताको डकुमेन्टमा अझै उहाँहरु माओवादीकै केन्द्रीय सदस्यका रुपमा रहनुभएको पाइयो । हामीले यही जानकारी दिएर पठायौं ।’

कमेन्ट गर्नुहोस्