सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य– प्रचण्ड सचिवालय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले मन्त्रीपरिषद विस्तारसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्तार गरेको मन्त्रीमण्डल कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतले आज २१ मन्त्रीलाई पदमुक्त गरेपछि प्रचण्ड सचिवालयको प्रतिक्रिया सार्वजनिक भएको हो ।

अध्यक्ष प्रचण्डका प्रमख नीजि सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छिन, “‘कामचलाऊ सरकारका प्रधानमंत्रीबाट नियम, कानुन र संबिधानकै धज्जिया ऊडाई मंत्रीपरिषद् विस्तार गर्ने काम भयो जुन आफैमा हॉस्यास्पद थियो। सर्वोच्च अदालतद्वारा अवैधानिक मंत्रीपरिषद् विस्तार खारेज गर्ने निर्णय स्वागतयोग्य छ।”

सर्वोच्च अदालतले कामचलाउ सरकारले सामान्य अवस्थामा जस्तो मन्त्रीपरिषद बिस्तार गर्न नसक्ने जिकिर गर्दै ओली सरकारमा नव नियुक्त २१ जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको थियो ।

अध्यक्ष प्रचण्डले आज मात्रै चितवनमा आयोजित एक कार्यक्रममा देश र संविधानलाई दुर्घटनाबाट जोगाउन हरसम्भव प्रयास गरिरहेको बताएका थिए । पछिल्ला दिनहरुमा सर्वोच्च अदालतले ओली सरकारले गरेका कैयन निर्णय बदर गरेको छ ।

सर्वोच्च अदालतले आजमात्रै प्रधानमन्त्रीका तर्फबाट दर्ता भएको भ्याकेट रिट निवेदनमा समेत अन्तरिम आदेश दिन अस्वीकार गर्दै कर्णाली प्रदेश सभाका चारैजना सांसदलाई बोलाउन सूचना दिने आदेश जारी गरेको थियो ।

कमेन्ट गर्नुहोस्