जसपाबाट मन्त्री बनेकाहरुको रुवावासीः उडायो सपना सबै हुरीले

काठमाडौं । मन्त्री बन्न तछाडमछाड गरेका जनता समाजवादी पार्टीका एक दर्जन मन्त्रीहरुको रुवावासी सुरु भएको छ ।

सर्वोच्च अदालतले पछिल्लो मन्त्रीमण्डल पुनर्गठनलाई कानुनसम्मत नभएको ठहर गरेसँगै २१ जना मन्त्रीहरुको पद फुत्किएको हो । यसमा सबैभन्दा धेरै जनता समाजवादी पार्टीका १२ जना मन्त्रीहरु थिए ।

मन्त्री बन्नकै लागि केहीले उपेन्द्र यादवको साथ छोडेका थिए भने केहीले भने निकै दबाब दिएर मन्त्रीपद पाएका थिए ।

संख्याका हिसाबले डेढ दर्जनभएपनि सरकार टिकाउन सकिने भएकाले प्रधानमन्त्री ओलीले मागेभन्दा बढी मन्त्री जनता समाजवादी पार्टीको ठाकुर– महतो पक्षलाई दिएका थिए ।

मन्त्री बनेकाहरुलाई बढीमा निर्वाचनसम्म र केही गरी प्रतिनिधि सभा पुनस्र्थापना गर्ने निर्णय सर्वोच्चले गरेपनि एकडेढ महिना मन्त्रीपद चलाउन पाउने आश थियो ।

खासगरी आर्थिक वर्षको अन्त्य हुने र असारमा नै सबैभन्दा बढी विकास बजेट खर्च हुने भएकोले समेत कतिपयलाई ‘डेढ महिनाको समय नै भएपनि ठीकै छ’ भन्ने परेको थियो । तर उनीहरु १८ दिनमैं मन्त्रालय छोड्नुपर्ने अवस्थामा पुगेका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका थिए । उक्त मन्त्रीमण्डलमा जसपाका केही सांसद पर्न नसकेपछि जेठ २७ गते पुनः मन्त्रिमण्डल विस्तार गरिएको थियो ।

तर आज काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले सो आदेश दिएपछि उनीहरुको सपना चकनाचुर बनेको हो ।

अब प्रतिनिधि सभा पुनस्र्थापना भएको खण्डमा समेत यिनै मन्त्री दोहोरिने अवस्था भने कम्तीमा अहिलेका लागि देखिँदैन ।

पद गुमाउने मन्त्रीहरु

रघुबीर महासेठ, परराष्ट्र

राजेन्द्र महतो, सहरी विकास

खगराज अधिकारी, गृह

शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाई

अनिलकुमार झा, खानेपानी

शेरबहादुर तामाङ, स्वास्थ्य तथा जनसङ्‌ख्या

राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ति

लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

नैनकला थापा, सञ्‍चार तथा सूचना प्रविधि

ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास

बिमलप्रसाद श्रीवास्तव, श्रम, रोजगार तथा सामाजिक विकास

उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ, युवा तथा खेलकुद

नारद मुनि राना, वन तथा वातावरण

गणेशकुमार पहाडी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पद गुमाउने राज्यमन्त्री

चन्द्रकान्त चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाई

रेणुका गुरूङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

आशाकुमारी विक, वन तथा वातावरण

कमेन्ट गर्नुहोस्