माधव नेपालल भने– ओलीले गल्ती सच्च्याए माफ दिने कि कसो शेरबहादुरजी ?

काठमाडौं । विपक्षी गठबन्धनले सम्पादकहरुसँग छलफल गरेको छ ।

छलफलका क्रममा बोल्दै नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको कोर्स करेक्सन गरे ठाउँ दिन सकिने बताए ।

छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवातर्फ हेर्दै नेपालले भने, ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, कसो शेरबहादुरजी ?

नेता नेपालले ओलीको अहंकारले अहिलेको परिस्थिति सिर्जना भएको बताए।

प्रतिनिधि सभा विघटन विरूद्धमा राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका विपक्षी गठबन्धनले आज संघीय संसद भवन बानेश्वरमा गरेको सम्पादकहरूसँगको भेटघाटमा नेता नेपालले ओलीले कोर्स करेक्सन गर्नुपर्ने बताए।

‘ओलीले मलाई कारवाही नै गरेका छन् त यो कौन पुछे खेसरीका दालजस्तो हो,’ उनले भने, ‘देश र जनताभन्दा माथि अरू कोही हुन सक्दैन।’

सोही कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असंवैधानिक काम राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको बताए। लोकतन्त्र बचाउन विपक्षी गठबन्धन बनेको उनको भनाइ थियो। उनले प्रतिनिधि सभा विघटनविरूद्ध जनपरिचालन गर्ने बताए।

‘मध्यरातमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधि सभा विघटन भयो। प्रधानमन्त्री ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेका छन्,’ उनले भने, उनले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरिएको देउवाकाे भनाइ थियाे ।

प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको भन्दै देउवाले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको बताए ।

‘कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्’ उनले भनेका छन् ।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले निरंकुश शासन चलाउन चाहिरहेको आरोप लगाए।

कमेन्ट गर्नुहोस्