इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली बन्याे युराेकप च्याम्पियन

काठमाडौँ — इंग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले युरो–२०२० को उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेल अतिरिक्त समयमा १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।
लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । 
इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पेनाल्टीमा २ वटा प्रहार बचाएका थिए । तर इंग्ल्यान्डका तीन जना खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए । इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन र ह्यारी मग्वायरले गोल गरेका थिए ।

तर मार्कस रसफोर्ड, जेडन सान्चो र बुकायो साका पेनाल्टीमा चुकेपछि लामो समयपछि ठूलो प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको योजनामा धक्का पुगेको हो । रसफोर्डको प्रहार पोलमा ठोक्किएको थियो भने सान्चो र साकाको प्रहार इटालीका गोलरक्षक डोनारमाले रोकेका थिए ।

त्यस्तै इटालीका बेलोटी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलरक्षक पिकफोर्डले बचाएका थिए । इटालीका लागि फेडेरिक बेर्नार्डेस्की, बोनुची र बेर्राडीले गोल गरेका थिए ।

कमेन्ट गर्नुहोस्