वर्गसंघर्षको झनै पेचिलो मोर्चामा सफल बनेका प्रचण्ड

गोकर्ण भट्ट । काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने क्रममा प्रचण्डको अभिव्यक्तिले धेरैमा तरंग सिर्जना गर्यो । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले माओवादी आन्दोलनमाथि गरेको टिप्पणीले आक्रोशित बनेका प्रचण्डले आगोसँग नखेल्न चेतावनी समेत दिए ।

प्रचण्डको आक्रोश माओवादी आन्दोलनको हार या जीतको विश्लेषणसँग थिएन बरु माओवादी आन्दोलन र अन्य संघर्षको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने शक्तिले उल्टै परिवर्तनकामीहरुलाई आक्षेप लगाउनुमा थियो ।

देउवाको सत्ता आगमन सामान्यरुपमा हेर्दा नियमित प्रक्रियागत घटनाक्रम देखिएपनि यसको अर्थ भने त्यति चानचुने छैन भन्ने सचेतताका आधारमा प्रचण्डको उक्त अभिव्यक्ति आएको देखिन्थ्यो ।
सतहमा हेर्दा ओलीको स्थानमा देउवा प्रधानमन्त्री भएका छन् । तर वर्षदिन अघिदेखिका घटनाक्रमहरु हेर्दा यो प्रधानमन्त्री को बन्ने भन्ने खेल मात्रै थिएन । यो एक किसिमले एउटा युद्द थियो । वर्गसंघर्षको एउटा मोर्चा । एउटा ठूलो युद्द ।

यो युद्दमा एकातिर एमाले अध्यक्ष केपी शर्मा ओली थिए । ओलीको पछाडि राष्ट्यि तथा अन्तराष्टिय शक्तिकेन्द्रहरु थिए । उनीहरुको मुख्य लक्ष्य इतिहासलाई उल्ट्याउने थियो । शुरुमा सामान्य देखिएपनि विस्तारै उनीहरुले संघीयतामा आक्रमण गर्न खोजेका थिए । समावेशितामा उनीहरुको प्रहार थियो । हिजो जुन जात, वर्ग, समुदाय, लिंगले आफ्नो अधिकारका लागि संघर्ष गरेका थिए, जे जति अधिकार जे स्वरुपमा प्राप्त भएका थिए, तिनलाई उल्ट्याउन यो कित्ताले खोजिरहेको थियो । त्यसैले ओली राजमा एकातिर दलाल पूँजिपतिहरुले सत्ताका सबै संरचनामा बलियो पकड बनाउन सफल भएका थिए भने अर्कोतर्फ धार्मिक राज्यतर्फ देश मोडिन थालेको थियो । प्रधानमन्त्रीका प्राथमिकताहरु खान नपाएका, लगाउन नपाएका जनता भन्दा फरक देखिन्थे । अर्कोतर्फ उनको स्वेच्छचारी शैलीलाई उपयोग गर्न शक्ति केन्द्रहरुलाई सजिलो थियो ।

याे पनि पढ्नुस  प्रचण्ड र देउवाबीच भेटवार्ता, के-के भयो कुराकानी?

शक्तिकेन्द्रहरुको विशेषता के हो भने उनीहरुले राष्ट राज्यहरुमा यदाकदा देखा पर्ने अतिवादी शक्ति या महत्वाकांक्षी व्यक्तिहरुलाई टपक्क टिप्ने गर्दछन् । मलजल गर्छन् । ब्याकअप दिने गर्दछन् र आफ्नो स्वार्थ निकाल्छन् । अनि स्वार्थ पुरा भएपछि मिल्काउने काम गर्दछन् । बिन लादेनदेखि सद्दाम हुसेन यसको उदाहरण हुन ।

नेपालमा कम्युनिष्ट पार्टी एक भएको शक्तिकेन्द्रहरुलाई मन परेको थिएन । त्यसैपनि कम्युनिष्ट आन्दोलन विकास भएको प्रतिक्रियावादी शक्तिलाई कहिँकतै पनि मन पर्दैन । नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएको अवस्था पचाउन नसकेर उनीहरुका लागि यसलाई भत्काउनैपर्ने अनिवार्यता सिर्जना भएको थियो । यसबाट उनीहरुले भूराजनीतिक स्वार्थ समेत पुरा गर्न सक्थे । र, यसका लागि केपी ओली उनीहरुको सजिलो र सहज पात्र थिए ।

त्यसैले यो पछिल्लो समयमा एकातिर केपी ओली प्रवृत्ति हुर्कियो भने अर्कोतर्फ प्रचण्डको नेतृत्वमा इतिहासका उपलब्धि जोगाउने शक्ति विकास भएको थियो । प्रचण्ड स्वयम्ले कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउन एमालेसँग एकताको प्रयास गरेका थिए । झण्डै दुई तिहाई जनमतसँगै बलियो बामपन्थी सरकार देशमा थियो । यसले जनपक्षीय काम गर्न सकेको भए नेपालमा कम्युनिष्ट आन्दोलनले छोटो समयमा समाजवादी क्रान्तिका आधार तयार पार्न सक्थ्यो । तर यसो गर्न नचाहेने शक्तिले एकपछि अर्को प्रहार गर्न थालेका थिए ।

त्यसैले यो एक अर्थमा वर्गसंघर्ष नै थियो । यहाँ आर्थिक आधारमा वर्ग विभाजन नदेखिएपनि विचार र एजेण्डाका आधारमा अग्रगमन र प्रतिगमनका बीचमा संघर्ष थियो । उपलब्धि टेकेर अघि बढ्ने कि उपलब्धी गुमाएर पछाडि फर्किने लडाईं थियो । यो मोर्चामा प्रचण्ड कतिपय बेला हारेक हुन कि भन्ने पनि पर्यो । कतिपयलाई यो सबै प्रधानमन्त्री या पदका लागि भन्ने पनि पर्यो । तर प्रकटमा त्यसरी देखिएपनि यो मूलतः वैचारिक संघर्ष थियो ।

याे पनि पढ्नुस  बिचौलियाहरूको अड्डा बन्यो बालुवाटारः झलनाथ खनाल

प्रचण्डले प्रधानमन्त्री पद त्यागेर केपी ओलीलाई नै पाँच वर्ष सरकार चलाउन सहमत भएपछि शक्तिकेन्द्रहरु बर्बराएका थिए । यदि यसो भएको भए नेपालमा बलियो कम्युनिष्ट पार्टी र बलियो कम्युनिष्ट सरकार बन्ने स्थिति थियो । यही बिन्दुबाट शक्तिकेन्द्रहरुले केपी ओलीलाई पार्टीमा प्रचण्ड बलियो हुन्छ भन्ने प्रचारमार्फत निरंकुशतातर्फ धकेल्ने काम गरे । यहाँ प्रचण्ड बलियो हुनु भनेको आन्दोलन बलियो हुनु थियो । कम्युनिष्ट सरकार बलियो हुनु थियो । यो बिन्दुबाट शक्तिकेन्द्रको स्पष्ट निशानामा प्रचण्ड परे । प्रचण्डलाई राजनीतिकरुपमा परास्त गर्नैपर्ने मिशनमा उनीहरु लागे । तर नेकपाको बहुमतले ओलीको कडा प्रतिवाद गरेपछि अन्ततः नेकपा नै विभाजन गराइयो ।

युद्धमोर्चाका कमाण्डरका लागि सबै मोर्चाका लडाईमा जीत नै हुन्छ भन्ने हुन्न । कतिपय मोर्चामा हार पनि हुन्छ । कैयन मनोगत चिन्तन या प्राविधिक कारणले हार पनि हुन्छ । तर विचारमा स्पष्टता र दुश्मन शक्तिको स्पष्ट पहिचानसहित अघि बढदा जीत अवश्य हुन्छ ।

प्रचण्डले लामो घुम्ती पार गर्नुपर्यो । नेकपा विभाजन भइसकेपछि प्रचण्डकै भविष्य के हुने भनेर प्रचार गरिएको बेला लोकतन्त्र र अग्रगमनकारी शक्तिबीच दृढ एकतासहितको मोर्चाबन्दी गर्नु त्यति सहज थिएन । ओली पक्षले यसलाई भत्काउन समेत के सम्म बाँकी राखेन । अन्तिममा आएर भीम रावल प्रकरणले यसका पटाक्षेप गरेको छ ।

राष्टिय र अन्तराष्टिय शक्तिहरुको निशानामा प्रचण्ड थिए । प्रचण्डलाई एक्ल्याउन सकिए, प्रचण्डलाई गलाउन सकिए नेपालको कम्युनिष्ट आन्दोलन र समावेशी धर्मनिरपेक्ष गणतन्त्रलाई उल्टो बाटोमा हिंडाउन सकिन्छ भन्ने उनीहरुले बुझेका थिए ।

तर प्रचण्डले फेरी एकपटक देशलाई दुर्घटनाबाट जोगाउन सफल भएका छन् । वर्गसंघर्षको एउटा मोर्चामा विजय हासिल गरेका छन् । उनले सोचेजस्तै एकीकृत कम्युनिष्ट आन्दोलन अघि बढन नसकेपनि कम्तिमा पनि संविधानसभामार्फत बनेको संविधान जोगिएको छ । व्यवस्था जोगिएको छ । देश प्रतिगमनतर्फ जाने खतरा टरेको छ । प्रचण्डले हाँकेको यो मोर्चामा माधव नेपाल पक्षको उत्तिकै योगदान रहेको तथ्य पनि यहाँ बिर्सिनु हुँदैन । अग्रगमनका पक्षमा माधव नेपाल र उनको दरो साथ नभएको भए यो संघर्ष त्यति सहजै जितिने थिएन । किनभने केपी ओलीको अविराम यात्रा पनि टुंगिएला भन्ने कल्पना समेत गर्न नसकिने अवस्था कुनै बेला सिर्जना भएको थियो ।

याे पनि पढ्नुस  सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अधिकार प्रचण्डलाई

यो बीचमा कैयन मनोगत गल्तीहरुको बीचबाट प्रचण्ड नगुज्रेका होइनन् । नियत सफा हुँदाहुँदै पनि घटनाक्रम र पात्रहरुलाई मनोगत ढंगले बुझ्न पुग्दा प्रचण्डको यात्रा पेचिलो बनेको सत्य हो । खासगरी केपी ओली प्रवृत्तिलाई उनले समयमा चिन्न सकेनन् । तर यो आत्मबोधले उनको भविष्यको यात्रा झनै दरिलो बनाउन भने सहयोग पुगेको देखिन्छ ।

अबको आवश्यकता संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्रलाई बलियो बनाउन बृहत संयुक्त मोर्चाको रहेको छ । यस्तो संयुक्त मोर्चा जसले दीर्घकालमा समाजवादको लक्ष्य राखोस् र अल्पकालमा भत्किन खोजेको, भत्काइएको कुरा सच्च्याउँदै जनतामा आशावाद जगाओस् । चौतर्फी निराशा छाएको बेला स्थिरता र स्थायीत्वको मनोविज्ञान विकास गरोस् । जसले प्रतिगामीहरुलाई उठनै नदिने किसिमले काम गरोस् ।

प्रचण्डका अगाडि अबको कार्यभार यही हो । संगठनलाई चुस्त दुरुस्त बनाउँदै समाजवादका पक्षधर शक्तिबीच कार्यनीतिक एकतालाई अघि बढाउने कार्यभार । यसका लागि उनले फेरी पहल शुरु गरेका छन् । कहिल्यै निराश हुने या थाक्न नचाहने प्रचण्डले अबको मोर्चामा पनि सफलता प्राप्त गर्ने विश्वास लिन सकिन्छ ।

कमेन्ट गर्नुहोस्