माधव नेपाललाई दोश्रो अध्यक्ष बनाउन सकिने- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेभित्रको विवाद हल गर्न माधव नेपाललाई दोश्रो अध्यक्ष बनाउन सकिने अध्यक्ष ओलीले बताएका छन् ।

एमाले केन्द्रीय कमिटिको बैठकमा बोल्दै अध्यक्ष ओलीले एकता जोगिन्छ भने माधवलाई दोश्रो अध्यक्ष बनाउन सकिने बताएको खबर सार्वजनिक भएको हो । पहिलो अध्यक्ष भने आफु नै हुने ओलीको आसय थियो ।

केन्द्रीय सदस्यहरुले क्षेत्रगत रिपोर्ट गर्दै पार्टी विभाजन भएमा आगामी निर्वाचनमा निकै ठूलो हार हुने बताएका थिए । माधव नेपाल बिनाको एमाले हुने भन्दै आएका ओली अहिले भने माधवलाई केही दिएर फकाउन सकिन्छ कि भन्नेमा लागेका छन् ।

माधव पक्षले भने पार्टीलाई विधि र पद्धती अनुरुप सञ्चालन गर्नुपर्ने, उत्तेजक र अराजक गतिविधि बन्द गर्नुपर्ने आग्रह गरेको छ । एकातिर स्पष्टिकरण सोध्ने, नेता नेपालविरुद्ध अनर्गल प्रचार र उत्तेजना फैलाउन र अर्कोतर्फ एकताको आव्हान गर्ने भन्दै बुधबार माधव पक्षका नेताहरुको बैठकले एकताप्रति गम्भीर हुन आग्रह गरेको थियो ।

एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबार दिउँसो पुनः बस्ने गरी टुङ्गिएको छ । बुधबारको बैठकमा २० भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताए पनि यसबारे नेता नेपालको कुनै प्रतिक्रिया आएको छैन ।

कमेन्ट गर्नुहोस्