जसपा आधिकारिकताको बहस आज सकिने, केन्द्रीय समितिको बहुमतका आधारमा निर्णय हुने

काठमाडौं । जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले आधिकारिताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि आज अन्तिम बहस हुने भएको छ ।

निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति कुन पक्षको आधिकारिक हो भन्ने निक्र्यौल गरेपछि प्रत्यक्ष उपस्थिति (हेड काउन्ट) गरेर बहुमत केन्द्रीय सदस्य हुने पक्षलाई आधिकारिता दिने जनाएको छ ।
आयोगले बिहीबारै दुवै पक्षको बहस टुंग्याउने लक्ष्य राखेको छ । दुवै पक्षका ३।३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि बढीमा २र२ घण्टाको समय निर्धारण गरेको छ । आयोगका सचिव सुरेश अधिकारीले दुवै पक्षको कुरा सुनेर बिहीबारै केही आदेश आउन सक्ने बताए ।

बिहीबार हुने सुनुवाइपछि आयोगको इजलासले आधिकारिक केन्द्रीय कार्यकारिणी समिति कुन हो त्यसबारे निर्णय दिन सक्छ । त्यसपछि ३, ४ दिनको समय दिएर समितिमा रहेकालाई आयोगमा उपस्थित गराएर ‘हेड काउन्ट’ गर्ने तयारी छ ।

जसपा दर्ताका बेला ५१ सदस्यीय कार्यकारिणी समिति आयोगको अभिलेखमा छ । यादव पक्षले त्यसैलाई मान्यता दिनुपर्ने माग गरेको छ । ठाकुर पक्षले भने पुस ७ को कार्यकारिणी समितिको बैठकले दिएको अधिकारअनुसार कार्यकारिणी समितिमा गरेको हेरफेरले मान्यता पाउनुपर्ने भनेको छ । त्यहीअनुसारका प्रमाण दुवै पक्षले आयोगमा पेस गरेका छन् ।

पार्टीमा विवाद हुनुपूर्वका कागजातमा दुवै अध्यक्ष यादव र ठाकुरका हस्ताक्षर छन् तर पछि दुवैको एक्लाएक्लै हस्ताक्षरमा निर्णयहरू पठाइएको छ । पुरानो कार्यकारिणी समितिमा यादवको सहज बहुमत छ भने ठाकुरले हेरफेर गरेको समितिमा ठाकुर पक्ष बहुमतमा छ । आयोगबाट जुन कार्यकारिणी समितिले वैधानिकता पाउँछ, पार्टीको आधिकारिकता पनि त्यसैअनुसार हुने निश्चित छ ।

कमेन्ट गर्नुहोस्