निर्वाचन आयोगमा हार्ने निश्चित भएपछि ठाकुर पुगे सर्वोच्चमा

काठमाडौं, साउन ८ । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ ।

आयोगले जसपा आधिकारिकता विवादको टुंगो लगाउन साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतबाट गर्ने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुग्नुभएको हो । उहाँले वारेसमार्फत सर्वोच्च अदालतमा निर्वाचन आयोग र अध्यक्ष उपेन्द्र यादवलगायतलाई विपक्षी बनाएर रिट निवेदन पेस गर्नुभएको थियो ।
रिट निवेदनमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति २०७८/४/७ गतेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मिति २०७३/३ १ गते पेश भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी हेरफेरबाट कायम भएको केन्द्रीय कार्यकारिणी समितिको आधारमा विवाद निरुपण प्रक्रिया अगाडी बढाउनु भनी विपक्षीका नाममा परमादेशको आदेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरि पाउँ । साथै विपक्षी निर्वाचन आयोगको उक्त मिति २०७८/४/७ गतेको निर्णय आदेह उत्प्रेषणको आदेशले बदर गरी विपक्षी उपेन्द्र यादवको एकल हस्ताक्षर रहेको मिति २०७८/३/४ को दाबी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४(१) को प्रतिकुल रहेकाले सो गैरकानुनी दाबीको आधारमा कुनै निर्णय काम कारवाही नगराउनु भनी विपक्षी उपर प्रतिषेधको आदेश समेत जारी गरी पाउँ ।’

निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउँदा आफूलगायतलाई अपूरणीय क्षति पुग्ने भन्दै रोक लगाउन आदेश माग्दै ठाकुर सर्वोच्च पुग्नुभएको हो ।

आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि ११ साउनमा बोलाउने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्