सरकारलाई प्रभावकारी बनाउने ५ दलीय गठबन्धनको निर्णय, माधव नेपाल समेत बैठकमा सहभागी

काठमाडौँ । संसद विघटनविरुद्ध निर्माण भएको पाँचदलीय गठबन्धनले सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

तत्कालमा देखा परेका समस्याहरुलाई प्राथमिकीकरण गर्दै जनअपेक्षाअनुरुप सरकार सञ्चालनका लागि सबै दल लागिपर्ने उनीहरुले सहमति गरेका छन् ।

आज शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले कोरोना महामारी, जनतामा सत्ताप्रति छाएको निराशा आदिलाई प्राथमिक कार्यसूचिमा राख्दै अन्य राजनीतिक मुद्दाहरु समेत क्रमशः सम्बोधन गर्ने निश्कर्ष निकालेको हो ।

सबै नेपालीलाई खोप उपलब्ध गराउने सरकारको प्राथमिक कार्यभार बनाउने, प्रतिगमनलाई मलजल पुर्याउने र संविधानलाई कमजोर पार्न गरिएका सबै विगतमा गतिविधिलाई कानुनसम्मत ढंगले ठीक ठाउँमा ल्याउने, द्वन्द्वपीडित, घाइते अपांग तथा गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सम्बोधन गर्ने किसिमले सरकारले प्राथमिकता निर्धारण गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

‘गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो’, बैठकमा सहभागी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । अध्यक्ष केसीका अनुसार गठबन्धनका नेताहरूले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने प्राथमिकता बनाउन र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद गर्नुपरे गर्न समेत सुझाव दिएको बताए । त्यस्तै गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा सामान्य छलफल भए पनि विस्तृतमा छलफल नभएको नेता केसीले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित जसपाका उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्