तस्वीरः देउवाले सिकाएको नैतिकता

देउवाले सिकाएको नैतिकताः प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलीय गबठन्धनको बैठक । बैठकमा प्रधानमन्त्री देउवा भने प्रधानमन्त्रीको हैसियतमा भन्दा पार्टी सभापतिको हैसियतमा देखिन्छन् । देउवा प्रधानमन्त्रीको कुर्सी छोडेर अरु नेताहरुसरह बसेका छन् ।

यो तस्वीरले तत्कालिन नेकपाको एउटा बैठकको स्मरण गराएको छ । प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति छोडेर केपी ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री र पार्टी अध्यक्षता भने आलोपालो गर्ने सहमति गरेका थिए । तर त्यसलगत्तै बसेको नेकपाको स्थायी कमिटी बैठकमा भने ओलीका लागि बेग्लै डिजाइनको कुर्सी राखिएको थियो । प्रचण्ड र माधव नेपाल भने दोश्रो दर्जाको नेताको रुपमा त्यहाँ कुर्सीमा बस्न बाध्य बनेका थिए । ओलीले अध्यक्षता गरेका बालुवाटारका कैयन बैठकमा यस्तो दृश्य देखिएको थियो ।

शनिबार साझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

यो तस्वीरमा दुई जना पूर्वप्रधानमन्त्री र दुई जना पूर्व उपप्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेका छन् । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ ।

बाँयातिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव आसीन छन् । गठबन्धनका शीर्ष नेताहरु सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्