म्याग्दीको गुर्जा खोलमा थुनियो पानी, सतर्कता अपनाउन आग्रह

म्याग्दी । म्याग्दीको गुर्जा खोलामा थुनिएका पानी ओभरफ्लो भएर बग्न थालेको छ ।

हिजो बेलुकीदेखि उक्त खोलामा पानी थुनिएको थियो ।

धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदी ठूलो तलाउ बनेको छ ।

खोला थुनिएको बारेमा गुर्जा खोलाको क्षेत्रमा खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको र आफूले हिजो राती नै सम्वन्धित निकायहरुमा जानकारी गराइसकेको धवलागिरि गाउँपालिका १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याले बताए ।

गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ ।

‘पहाड खसेर नदी थुनिएको र ठुलो तलाउ बनेको खेतवारीको काममा गएका स्थानीयले खवर गरेका छन्, एकैपटक तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुनसक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराईएको छु’– वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।

नदी थुनिएको स्थानमा गुर्जाबाट पुग्न २ घण्टा बढी समय लाग्छ । अहिले विहान वडाअध्यक्ष छन्त्याल सहितको टोली खोला थुनिएको स्थानतर्फ प्रस्थान गरेको छ ।

थुनिएको खोलाको बाँध फुटेर एकैचोटी बग्न थाल्यो भने तटीय क्षेत्रका दर्जनौ बस्तीहरु जोखिममा पर्ने हुँदा तटीय क्षेत्रका वस्तीहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
File Photo

कमेन्ट गर्नुहोस्