आज जसपाको आधिकारिकताको टुंगो लाग्ने, चलखेल हुनसक्ने भन्दै यादव पक्षका ३२ सदस्य रिसोर्टमा

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिताको टुंगो लगाउने भएको छ ।

आयोगले आज प्रत्यक्ष उपस्थितिका आधारमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत कसको पक्षमा छ भन्ने निक्र्यौल गर्ने भएको हो ।

यसैबीच आफ्ना सदस्य तान्ने प्रयास हुनसक्ने भन्दै अध्यक्ष उपेन्द्र यादवले ३२ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई गोदावरी रिसोर्टमा लगेर राखेको छ ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रलोभन देखाएर सदस्य तान्न सक्ने भन्दै यादव पक्षले आफ्ना सदस्यलाई रिसोर्टमा राखेको हो । आयोगले सोमबार ‘हेड काउन्ट’ गरेर बहुमत रहेको पक्षलाई आधिकारिकता दिने बताएको छ ।

रिसोर्टमा १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसदसहित ३२ जना छन् । केन्द्रीय कार्यकारिणी समितिमा नरहेका दुई सांसद भने उपस्थित छैनन् ।

सर्वोच्च अदालतले जसपाका अध्यक्ष ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको छ । जसपा अध्यक्ष ठाकुरले भने कार्यकारिणी समितिकै विवाद निरूपण नगरी आयोगले बहुमत र अल्पमत परीक्षणमा जाने निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए । रिटमा ठाकुरले आयोगबाट सनाखत कार्य नरोकिए आफूलगायत जसपाका नेतालाई अपूरणीय क्षति हुने उल्लेख गरेका थिए । न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि दुवै पक्षलाई साउन १५ गते बोलाएको छ । ‘प्रस्तुत विवादसँग सम्बन्धित निर्वाचन आयोगको निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लाने गरी झिकाउनू,’ अदालतको आदेशमा भनिएको छ । सर्वोच्चले ठाकुरको रिटमा अन्तरिम आदेश नदिएपछि आयोगलाई अघि बढ्न बाटो खुलेको हो । आयोगले दल दर्ताका बखत सनाखत गरेका ५१ सदस्यलाई सोमबार बोलाएको छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिले ३२ जना यादव पक्षमा देखिएका छन् ।

रिसोर्टमा को–को छन् ?

  1. उपेन्द्र यादव
  2. अशोककुमार राई
  3. बाबुराम भट्टराई
  4. राजेन्द्रप्रसाद श्रेष्ठ
  5. महेन्द्र राय यादव
  6. नवराज सुवेदी
  7. परशुराम खापुङ
  8. युवराज कार्की
  9. रकम चेम्जोङ
  10. रेणुकुमारी यादव
  11. लालबाबु राउत
  12. हिसिला यमि
  13. हेमराज राई
  14. गंगानारायण श्रेष्ठ
  15. रणध्वज लिम्बू
  16. रामसहायप्रसाद यादव
  17. डम्बरबल्लभ खतिवडा
  18. दानबहादुर विश्वकर्मा
  19. प्रकाश अधिकारी
  20. मो. इस्तियाक राई
  21. दुर्गा सोंव
  22. परशुराम बस्नेत
  23. प्रशान्त सिंह
  24. भक्तबहादुर शाह
  25. सुशीला श्रेष्ठ
  26. विजयकुमार यादव
  27. रामनरेश राय यादव
  28. मृगेन्द्रकुमार सिंह
  29. नवलकिशोर साह
  30. गजाधर यादव
  31. रमेश यादव
  32. अमृता अग्रहरि

कमेन्ट गर्नुहोस्