लुम्बिनीका ३ सांसदलाई निलम्बन गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको हो ।

कार्वाही गरिएका सांसदहरुले पार्टीको निर्णयविपरित मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका थिए । लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । तर पार्टीको निर्णयविरुद्ध उनीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चको आदेशपछि पद जोगिएपनि आज बसेको बैठकले भने उनीहरुलाई कार्वाही गरेको छ ।

उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिता पाएको र त्यसको कार्यकारिणी समितिले नै कार्वाही गरेपछि तीनजना सांसदको पद रिक्त हुने भएको छ ।
मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

कमेन्ट गर्नुहोस्