नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ ।

यस अघि मंगलबार पनि २९‍.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । बुधबार पनि पुनः नयाँ रेकर्ड कायम भएको छ ।

नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ ।

दिनभर भएका १ लाख २८ हजार ७८० कारोबारबाट २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचकले नयाँ रेकर्ड राखे पनि कारोबारमा खासै उत्साह देखिएन । कारोबार रकम मंगलबारको भन्दा करिब २ अर्ब रुपैयाँ कम हो ।

कमेन्ट गर्नुहोस्