चिन्ताजनक खुलासाः डेल्टा भेरिएन्ट दादुरा जस्तै तीब्ररुपमा फैलिन सक्ने, खोप लगाएपनि संक्रमित हुने र फैलिन सक्ने

काठमाडौं । कोरोना भाइरसको नयाँ म्यूटेन्टका रुपमा चर्चामा रहेको डेल्टा भेरिएन्टको बारेमा चिन्ताजनक खुलासा भएको छ ।

अमेरिकामा भएको एक अध्ययनले यो भेरिएन्ट तीब्र गतिमा फैलिने र खोप लगाएका मानिसमा समेत संक्रमण हुने बताएको हो ।
अध्ययनमा यो भेरिएन्ट दादुराजस्तै फैलिनसक्ने पनि भनिएको छ।

यो अनुसन्धान अमेरिकाको महामारी नियन्त्रण केन्द्र (सिडिसी)ले गरेको हो । अनुसन्धानको पूर्ण पाठ प्रकाशित नभएपनि न्यूयोर्क टाइम्समा यो अध्ययनबारे समाचार प्रकाशित भएको हो ।

यसमा चिन्तित हुनुपर्ने कुरा के छ भने खोपका दुबै मात्रा लगाएका मानिसमा पनि खोप नलगाएका मानिसजस्तै डेल्टा भेरिएन्ट फैलिन सक्छ । हाल खोप लगाएका मानिसमा कोरोना संक्रमण नहुने या कम हुने भन्दै अमेरिका लगायत कैयन देशले मास्क लगाउनु नपर्ने समेत घोषणा गरेका छन् । तर नयाँ अध्ययनले स्वास्थ्य सुरक्षा मापदण्डमा झनै कडाई गर्नुपर्नेमा जोड दिएको छ ।

सिडिसीका निर्देशक डा. रशेल पी भोलेन्सीले खोप लगाएका मानिसको नाक र घाँटीमा खोप नलगाएका मानिस जत्तिकै भाइरस हुने र त्यसबाट यो सजिलैसँग प्रसार हुने बताए ।

तर यो समाचारमा दुबै खोप लगाएका मानिस जटिल संक्रमण हुनबाट भने सुरक्षित भएको बताइएको छ । खोपले गम्भीररुपमा बिरामी हुनुबाट ९० प्रतिशतसम्म जोगाउँछ । तर यसबाट भाइरसको संक्रमण र प्रसारण भने कम हुन्छ । त्यसैले खोप लगाएपछि पनि मानिसहरु कोरोना संक्रमित भएका छन ।

अध्ययनमा डेल्टा भेरिएन्ट अल्फाको तुलनामा हावामा दश गुना बढी तीब्रताले फैलिने बताइएको छ । डेल्टाबाट संक्रमित व्यक्तिमा भाइरसको मात्रा भाइरसको मूल संस्करणबाट संक्रमित मानिसको तुलनामा एक हजार बढी हुने गर्दछ । डेल्टा भाइरस खासगरी मर्स, सार्स, इबोला, सामान्य रुखाखोकी हुने भाइरसभन्दा पनि तीब्र गतिमा फैलिने गर्दछ । यसलाई दादुरा जस्तै संक्रामक पनि भनिएको छ ।

डेल्टा भेरिएन्टको पहिलो संक्रमण भारतमा पाइएको थियो । यसलाई B.1.617.2 को रुपमा पनि चिनिन्छ । यो गम्भीर बिरामीको कारण बन्नसक्छ । डेल्टामाथि भएको यो अध्ययनले सिडिसीका वैज्ञानिकहरुलाई सतर्क बनाएको छ । अधिकारीहरु यसबाट चिन्तित भएको समाचारमा उल्लेख छ । यो गम्भीर खतरा भएकोले तत्काल पहल गर्नुपर्ने आवश्यकतमा जोड दिइएको छ ।
केन्द्रले गत जुलाई २४सम्मका तथ्यांक जुटाएको छ । यसमध्ये १ करोड ६२ लाख अमेरिकीहरुमा हेक हप्ता करिब ३५ हजारमा लक्षणयुक्त संक्रमणका घटना भेटिएका थिए ।
केन्द्रले खोप लगाएपनि मास्कको अनिवार्य पालना, स्कूललगायतका भीडभाड हुने स्थानमा स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्