भीषण बाढीले हेलम्बुको रातो पक्की पुल र रेडियो मेलम्चीको घर बगायो

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ । आज बिहान ७ बजेर ५३ मिनेटमा हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएको स्थानीय शिव देउजाले जानकारी दिनुभयो ।

यो पुल असार १ गते आएको बाढीबाट बचेको थियो । यो पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको छ ।

शनिबार रातिबाट आएको बाढी बढ्दै गएपछि बिहान उक्त पुल बगाएको हो । रातिबाट नै पुलको माथि हुँदै पानी बगेको थियो ।

पुल बगाएपछि हेलम्बु गाउँपालिकाको १,२ र ३ नम्बर वडा पूर्णरुपमा सम्पर्कविच्छेद भएको देउजाले बताउनुभयो । उहाँका अनुसार मेलम्ची नगरपालिकाको वडा ७ र ८ मा त्यही पुल हुँदै गाडी ओहोरदोहोर गर्ने गर्दथ्यो । अब ती वडा पनि सडक सम्पर्कबाट टुटेको छ ।

शनिबार राती आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन समेत बगाएको छ ।

राती १ बजे रेडियो मेलम्चीको भवन बगाएको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । ‘भवन थियो अहिले त नामो निसान केही छैन्’ डम्बरले भन्नुभयो’ ‘हेर्दाहेर्दै राति १ बजे भवन बगाएर लग्यो ।’ उहाँको अनुसार खोलाले किउलका तीनवटा घर बगाएको छ । बाढीले तालामाराङ प्रहरी चौकी लगायतका भवनहरुमा क्षति पु¥याएको छ ।

रेडियो मेलम्चीको भवन हुँदै पछिले समय खोला बग्ने गर्दथ्यो । मेलम्चीका बस्तीहरु भने हालसम्म सुरक्षित छ । पुरानो बजारमा सफा गरिरहेका केही घरमा पुन लेदो बसेको पनि अध्यक्ष भारतीले जानकारी दिनुभयो ।

यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

कमेन्ट गर्नुहोस्