सेयर बजार : प्राधिकरणमा कुलमान आउने हल्लाले हाइड्रो समूहमा झुम्मिए लगानीकर्ता

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा १२.०५ अंकको वृद्धि भएको छ । बुधबार नेप्से ३१२३.१५ विन्दुमा पुगेको छ ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा आउने हल्लाले बुधबार लगानीकर्ता जलविद्युत समूहमा झुम्मिएका छन् । जलविद्युत समूहको परिसूचक ५.८१ प्रतिशतले वृद्धि भएको छ ।

बुधबार जलविद्युत बाहेक बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक हरियो रह्यो । अन्य समूहको परिसूचक भने घटेको छ ।

आज कुल २२५ कम्पनीको १ लाख ४४ हजार ८ सय ८७ वटा कारोबार भएको छ । यसबाट कुल २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रह्यो । बुधबार एक दर्जन कम्पनीको मूल्य सर्किट स्तरमा बढेको छ । अपि पावर कम्पनी, खानीखोला जलविद्युत, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्लो तामाकोशी सहितका कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी गुमाउने कम्पनीमा भने ङ्याग्दी ग्रुप पावर, लक्ष्मी इक्विटी फण्ड, पोखरा फाइनान्स लगायत कम्पनी छन् । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ।

कमेन्ट गर्नुहोस्