एक निर्वाचन क्षेत्र, १ हजार वाइसिएल, कञ्चनपुरमा YCL को आक्रामक अभियान (फोटो फिचर)

महेन्द्रनगर, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपाल कञ्चनपुरले संगठन बिस्तारको आक्रामक योजना अघि बढि बढाएको छ ।

एक निर्वाचन क्षेत्र, एक हजार वाईसिएलको नारा दिएर शुरु गरिएको अभियान अन्तर्गत अहिले जिल्लाका बिभिन्न क्षेत्रमा वाइसिएलको संगठन निर्माण भइरहेको छ ।

वाइसिएलका जिल्ला इन्चार्ज अर्जुन साउदले दिएको जानकारी अनुसार, जिल्लाका तीनवटै निर्वाचन क्षेत्र अन्तर्गतका पालिकाहरुमा वडास्तरदेखि नै संगठन निर्माण गरिएको हो ।

कञ्चनपुरमा तीनवटा निर्वाचन क्षेत्र र नौ वटा स्थानीय तह रहेका छन् ।

हालसम्म धेरैजसो वडामा संगठन निर्माण भइरहेको छ भने बाँकी वडाहरुमा समेत संगठन बिस्तार गरिँदैछ ।

वाइसिएललाई आम जनताको जुझारु संगठनका रुपमा विकास गर्दै स्थानीयस्तरमा सामाजिक न्यायका पक्षमा गोबलबद्ध गर्ने तथा भ्रष्टाचारविरुद्ध परिचालन गरिने इन्चार्ज साउदले बताए ।

जनताका दैनिक समस्याहरुदेखि स्थानीय तहलाई जनताका पक्षमा काम गर्न खबरदारी गर्ने उनको भनाई थियो ।

पछिल्लो समयमा राजनीतिक परिवेशप्रति जनताको गुनासो बढदै गएको सन्दर्भममा युवाहरुमा राजनीतिक र सामाजिक परिवर्तनको चेतना फैलाउने, उनीहरुको क्षमता विकास गर्ने र जनतासँग जोडने अभियानलाई आगामी दिनमा झनै तीब्रता दिइने उनले बताए ।

“स्थानीय तहलाई जनउत्तरदायी बनाउने, विकास निर्माणदेखि अन्य कार्यलाई पारदर्शी र जनमुखी बनाउन खबरदारी गर्ने हाम्रो अभियान छ ।” साउदले भने, “सामाजिकरुपमा समेत युवाहरुलाई संगठित गर्दै उनीहरुको क्षमता विकासका लागि हामीले भविष्यमा बृहत योजना निर्माण गर्ने सोचेका छौं ।”

यसअघि वाइसिएल नेपालको केन्द्रीय समितिले राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेकाे थियाे ।


राष्ट्रिय भेलाको तयारीका लागि जिल्ला सम्मेलनमा जुटेको वाइसिएल कञ्चनपुरले ६१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरिएको जिल्ला संयोजक सुचित्र शाहले जानकारी दिए । शाहका अनुसार, आयोजक समितिले सबै वडामा सम्मेलन गर्ने, स्थानीय तहको कमिटी गठन गर्ने र जिल्ला सम्मेलन गर्ने तालिका निर्माण गरेको छ ।

आयोजक समितिको पहलमा अहिले युद्दस्तरमा संगठन निर्माण भइरहेको इन्चार्ज साउदले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्