काठमाडौं । नेकपा एमालेमा विद्रोह गर्दै नेकपा एमाले समाजवादीको जन्म भएको छ ।
पार्टीमा अध्यक्ष केपी ओलीले स्वेच्छाचारी ढंगले एकलौटी संगठन चलाउन खोजेको भन्दै वरिष्ठ नेता माधव नेपालको अगुवाईमा नयाँ पार्टी दर्ता हुने भएको हो । नेता नेपालकाे नेतृत्वमा आज निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेको हो ।
वैचारिकरुपमा गैर कम्युनिष्ट चरित्रको विकास भएको र राजनीतिकरुपमा प्रतिगमनकारी कार्यदिशा समातेको भन्दै माधव समूहले विद्रोह गरेकाे हो ।
आज वानेश्वरको अर्याल होटेलमा बसेको माधवपक्षीय बैठकले अध्यादेशले सहज बनाएको परिस्थितिमा नयाँ दल दर्ता गर्ने निर्णय गरेको थियो । नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुला किताब राख्ने सहमति जुटेको छ । एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार, नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने निर्णय भएको थियाे ।
नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए ।