काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणपछि नेपाली जनतामा राजनीतिकप्रति पलाएको विश्वासलाई कायम राख्दै स्वाधीन राष्ट्यिर अर्थतन्त्रको विकासमार्फत समाजतर्फ अघि बढ्ने सपना बोकेर नेकपाको स्थापना भयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रगामी सोचका साथ सचेततापूवर्क नेकपा गठन गर्नका लागि हदैसम्मको लचकता अपनाएर एमालेसँग प्रस्ताव गरेका थिए । अन्ततः नेकपा स्थापना भयो र निर्वाचनमार्फत यसले जनअनुमोदन पनि प्राप्त गर्यो ।
तर चुनावपछि सरकार गठनसँगै प्रचण्डको उद्देश्य वैचारिक इमान्दारिता र नेपाली समाजलाई एक धक्का अघि बढाउने रहेको भएपनि एकतामा सामेल अर्को पार्टी एमालेका अध्यक्ष ओलीको नियत भने संसदवाद भन्दा माथि उठन नखोजेको देखियो । जहाँ प्रचण्डले नेपाली समाजलाई उन्नत स्वाधीन समाजवादी राष्ट्रमा विकास गर्ने सपना देखेका थिए ओलीका लागि भने एकता सत्तामा पुग्ने र संसदीय गोलचक्करमैं रमाउने रहेछ भन्ने कुरा स्पष्ट भयो ।
ओलीले संसदवादभन्दा माथि उठन नखोज्ने, सरकार सञ्चालनदेखि देशमा भित्रिएको कोरोनाविरुद्ध सामूहिक पहलकदमी लिन नखोजेको अवस्थामा प्रचण्डले फेरी त्यही उदात्त भावनाले पाँच वर्ष नै प्रधानमन्त्री बन्न समेत ओलीका लागि बाटो खुला गरिदिए ।
तर ओलीको नियत सफा थिएन, उनले प्रचण्डको यो त्याग र उदात्त भावनालाई कमजोरी ठाने र झनै स्वेच्छारी प्रवृत्ति र शैली प्रदर्शन गरे ।
यो बिन्दुबाट ओलीले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन होइन, दक्षिणपन्थी बिसर्जनवादको बाटो समातेको स्पष्ट देखियो । प्रचण्ड र माधव नेपालको लामो र सघन प्रयासले समेत ओली सच्चिन तयार भएनन् । उनले बैठक छले, बैठकलाई ढाँटे तर सच्चिने मनशाय देखाएनन् ।
यसरी ओलीको दक्षिणपन्थी विसर्जनवाद र राष्ट्रिय आत्मसमर्पणवादविरुद्ध नेकपामा प्रचण्ड माधवहरुले मोर्चा खोले । यो मोर्चा प्रधानमन्त्री पद या कुनै अमुक स्वार्थका लागि थिएन । किनभने प्रचण्डले त्यो पद त बाँकी अवधिका लागि ओलीलाई दिइसकेका थिए । बरु यो लडाई पार्टीभित्र भित्रिएको दक्षिणपन्थी खतराविरुद्ध थियो ।
तर ओलीले यो लडाईलाई नेकपा विभाजनसम्म गराउन सफल गराएर आफ्नो पक्षमा ल्याउन कोशिस गरे । दुईपटकसम्म संसद विघटन गरे । नेकपा विघटन भयो । यतिले मात्रै नपुगेर ओलीले एकतापूर्वको एमालेको अंकगणित उल्ट्याउने किसिमले संगठनमा चलखेल गरे । माधव पक्षहरुलाई पुरै बहिस्कारको रणनीति अख्तियार गरे । चारपाँचपटकसम्म माधव र उनी पक्षका नेताहरुमाथि कार्वाही गरियो । एकातिर एकताको कुरा गर्ने तर अर्कोतर्फ माधव समूहसँग कुनै छलफल बिना नै संगठनात्मक जिम्मेवारी देखि अन्य कामहरु अघि बढाइए ।
पछिल्लो समयमा निकै लामो कसरतपछि एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्ने अस्त्र ओलीले फाले । तर यता बैठकले १० बुँदे कार्यान्वयन गर्ने र अर्कोतर्फ माधव पक्षका नेताहरुमाथि कार्वाही गर्ने, छलफल र सहमति नै अघि नबढ्दै आफ्नो गुटको बैठक बोलाएर त्यसलाई पार्टीको बैठक भन्दै निर्णय गर्ने काम ओलीले गरे । एकता भनेको ओलीका लागि आत्मसमर्पण गरेर याचना गर्ने परिभाषा थियो । जबकि माधवहरु राजनीतिक र वैचारिकरुपमा नै ओलीले आत्मालोचना गर्नुपर्ने र संगठनमा विधि र पद्दतीको पालना गर्नुपर्ने माग गर्दै आएका थिए ।
ओली सुन्न तयार थिएनन् । माधवहरुका अगाडि समेत आत्मसमर्पण गर्ने या विद्रोह गर्ने अन्तिम विकल्प बाँकी थियो ।
अन्ततः माधवहरुले विद्रोह रोजे ।
यो विद्रोह नेकपा एमालभित्रको प्रतिगमनकारी सोच, आत्मसमर्पणवादी चिन्तन र अधिनायकवादी कार्यशैलीविरुद्ध थियो । क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको विकासमार्फत समाजवादी क्रान्तिका लागि आधार तयार पार्ने कार्यदिशाका पक्षमा थियो । भविष्यमा माधव समूहले यो वैचारिक र सैद्धान्तिक आधारमा कति आफूलाई विकास गर्न सक्छ भन्ने बेग्लै प्रश्न यहाँ जन्मिन सक्ला तर वर्तमान यो विद्रोह पार्टीलाई दक्षिणपन्थी भासमा लैजान खोज्ने प्रवृत्तिविरुद्ध थियो । जुन कुरा केशरजंग रायमाझीहरुले नेकपालाई राजाको पाउमा चढाउँदा त्यो बेला कम्युनिष्ट नेताहरुले गरेका थिए ।
माधव नेपाल कठीन यात्रामा छन् तर उनी वैचारिकरुपमा सही छन् । उनको भावी यात्राका लागि शुभकामना ।