अस्तित्वादको शिकार- एमालेको तेश्रो धार

गोकर्ण भट्ट । गत वैशाख १४ गते नेपाल लाइभमा प्रकाशित एउटा अन्तर्वार्तामा नेकपा एमालेकी नेतृ तथा यो सातामात्रै बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले भनिनः

अहिलेका गतिविधि देख्दा आफ्नै अध्यक्ष ओलीप्रति घृणा लाग्छ । अन्तर्वार्तामा नेतृ शाक्यको प्रश्न थियोः पार्टीलाई नै थाहा नदिएर पार्टीको विधि पद्धति प्रणालीलाई मिचेर एक्लाएक्लै आफ्नै खुसीले निर्णय गर्नु यो भन्दो बेठीक कुरा के हुन सक्छरु अब पार्टी यसरी चल्दैन। केपी ओलीलाई हामी सबैले महाधिवेशनबाट बनाएको अध्यक्ष हो। एमाले माओवादी एकतापछि एकिकृत पार्टीको अध्यक्ष बनायौं। शक्तिशाली पार्टीको अध्यक्ष भइसकेपछि उहाँले झन् पार्टीलाई एकीकृत र बलियो बनाउनु पर्ने हो। पार्टीका संस्थागत विधि पद्धतिलाई स्थापित गर्नुपर्ने हो। अध्यक्षले नै विधि पद्धति र संस्थागत प्रणाली तोड्नुभयो भने कस्तो कम्युनिस्ट पार्टी बन्ला ?

गत फागुन २९ गते कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा एमाले नेता भीम रावलले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओली पार्टी विभाजनको षडयन्त्रमा लागेको गम्भीर आरोप लगाए । रावलको भनाई थियोः

गत वैशाखदेखि पार्टी फुटाउने, प्रतिनिधिसभा विघटन गर्ने, कसैलाई जानकारी नदिई प्रतिनिधिसभाको बैठक बन्द गर्ने, स्थायी कमिटीको निर्णय अबज्ञा गर्ने, विदेशी गुप्तचर प्रमुखसँग बालुवाटारमा लामा–लामा बैठक गर्ने जस्ता कुराले उहाँले नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलन र हाम्रो संविधानमाथि प्रहार गर्ने उहाँको सुनियोजित क्रियाकलाप छ, यसलाई त्यसैको अंगका रूपमा बुझेका छौं । यसलाई हामी अस्वीकार गर्छौं, निन्दा गर्छौं र एमालेको सम्पूर्ण पंक्तिलाई स्वेच्छाचारी, पार्टीको विधान, सिद्धान्तको प्रतिकूल गरिएको कामविरुद्ध आवाज उठाउन आह्वान गर्छौं । ठोस कार्ययोजनाका साथ हामी पनि अगाडि बढ्छौं । उहाँको निरंकुश र निर्लज्ज काम एमालेको एउटा पक्षमाथिको मात्रै प्रहार होइन, सिंगो लोकतन्त्रमाथि प्रहार हो । यो कम्युनिस्ट आन्दोलनमाथिको प्रहार हो । यो मुलुकको स्वाधीनता र स्वतन्त्रतालाई कुण्ठित बनाउने खेल हो भन्ने हाम्रो ठहर छ ।

गत चैत्र १७ गते आफुलाई सोधिएको स्पष्टिकरणको लामो जवाफ दिँदै नेता घनश्याम भुसालले ओलीले अध्यक्ष ओली जसबाट फाइदा लिनुहुन्छ, उसैलाई ठुङ्नु हुन्छ भन्ने आरोप लगाए । उक्त स्पष्टिकरणमा नेता भुसालको प्रश्न थियोः

सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ रु पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्’, उनको पत्रमा भनिएको छ, ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’

एमाले विभाजनपछि तेश्रो धारमा उभिएका नेताहरुले एमाले अध्यक्ष केपी ओलीको वैचारिक चिन्तन र संगठनात्मक कार्यशैलीविरुद्ध गरेको संघर्षका यी केही दृष्टान्त मात्रै हुन । यी तीनजना नेताबाहेक अहिले तेश्रो धारमा देखिएका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, युवराज ज्ञवालीलगायत सबैले यो वा त्यो रुपमा केपी ओली प्रवृत्तिको बिरोध गर्दै आएका थिए ।

सबैको आलोचनाको सार भने उही थियो । घनश्याम भुसालले स्पष्टिकरणमा थप भनेका थिएः ‘सरकारका विधेयकहरु विवादित भए, मन्त्रीहरु विवादित भए, अनेक काण्डमा तपाईंको भूमिका अनुचित रह्यो, विदेश नीतिमा तपाईँ अवसरवादी हुनु भयो, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईँले निजी मामिला बनाउनु भयो, सुशासनलाई तपाईँ आफैले लज्जित पार्नु यो, सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो, कैयन् अधिकारहरू आफ्नो हातमा लिनुभयो तर तिनको दुरुपयोग गर्नु भयो, यस्ता अनेक असफलतापछि संसद विघटनजस्तो अवैधानिक कदम चाल्नु भयो । त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ? तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’

तर अहिले तेश्रो धारले जारी गरेको पछिल्लो पत्रमा भने यी कुरा गौण बनेका छन् । त्यहाँ एमाले एकताको चिन्ता बढी छ, एमाले एक हुनुपर्ने र १० बुँदे सहमतिको अक्षरशः पालनाका लागि ओली र नेपाल गम्भीर हुनुपर्ने अपील छ । त्यहाँ कार्यकर्तालाई एकताका पक्षमा दबाब दिन अपील छ । तर तेश्रो धारको पछिल्लो अपीलमा उनीहरुले बारम्बार उठाउँदै आएका राजनीतिक र संगठनात्मक प्रश्न कतै पनि छैनन् ।

प्रश्न उठछः राजनीतिक र संगठनात्मक प्रश्नहरुको छिनोफानो के १० बुँदेले गर्न सक्थ्यो । घनश्याम भुसालकै शब्दमा त्यो त उपयोग गरेर ठुंग्ने ओलीको रणनीति मात्रै बनेन र ?

अर्कोतर्फ, माधव नेपालहरुले विद्रोह गर्ने अवस्था किन सिर्जना भयो । तेश्रो धारकाहरुले उठाएका प्रश्न, उनीहरुले गरेको मागलाई केपी ओलीले पुरा नगरेको र निरंकुश तरिकाले एउटा उन्मादमा पार्टी सञ्चालन गर्ने कार्यशैली सच्याउन केपी ओली तयार नभएको अवस्थामा विद्रोहबाहेक के विकल्प रहन्थ्यो । के तिनै प्रश्नहरुमा ओली गम्भीर नभएको कारण यो परिस्थिति सिर्जना भएको होइन र ? बस्तुगत परिस्थितिले त्यहाँ पुग्नैपर्ने बाध्यता आएको अवस्थामा भावनात्मक या वैयक्तिक आग्रहका आधारमा गरिने अपीलले केही अर्थ राख्छ र ?

तेश्रो धारका नेताहरुले विगतमा उठाएका प्रश्नहरु जायज हुँदाहुँदै पनि निर्णायक अवस्थामा उनीहरुको अस्तित्वादी चिन्तनपद्धतीको शिकार बनेका छन् । अस्तित्ववादी चिन्तनपद्तीले स्वअस्तित्वको प्रधानमा जोड दिन्छ । यसले बस्तुगत परिस्थितिले निर्माण गर्ने चेतना भन्दा अस्तित्वको चेतनालाई प्रधानता दिन्छ । बस्तुगत परिस्थितिले एउटा चेतनाको माग गर्छ, तर अस्तित्वको चेतनाले अर्को माग गर्ने अवस्था अहिले तेश्रो धारको देखिएको छ । यसले कता कता आदर्शवादको झल्को दिन्छ । सुन्दा सुन्दर लाग्ने तर धरातलीय यथार्थभन्दा पूर्णरुपमा फरक ।

तेश्रो धारका अगाडि अहिले एउटा गम्भीर यक्ष प्रश्न उभिएको छ । पार्टी विभाजन रहर थिएन तर के त्यसको विकल्प थियो ? केपी ओलीले उनीहरुले भनेकै शब्दमा निरंकुश शैली अपनाउन छोडेका थिएनन् । यदि माधव नेपालहरुले विद्रोह नगरेको भए के हुन्थ्यो ? १० बुँदे सहमति कार्यान्वयन कसले नगरेको हो । माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दश बुँदे सहमतिप्रति प्रतिबद्धता देखाउँदै पार्टी एकताका लागि अपील गरेको थिएन र ? केपी पक्षले एकातिर १० बुँदे अनुमोदन गर्ने अर्कोतर्फ धमाधम माधव पक्षमाथि कार्वाही गर्ने र संगठनात्मकरुप्मा विधान संशोधनदेखि जिम्मेवारी बाँडफाँड गरेको थिएन ?

केपी पक्षले महाधिवेशनको तयारी गर्ने, आफुखुसी विधान संशोधन गर्ने, आफुखुसी विभागहरुको जिम्मेवारी बाँडफाँड गर्ने, अनि आफुनिकटकालाई प्रतिनिधि बोलाएर महाधिवेशन गर्ने । अनि माधव पक्षले के गरेर बस्ने ? पार्टी एकताको नाम जप्दै चुपचाप त्यो निरंकुशता सहीराख्ने ? बहस चलाउन पनि मञ्च त हुनुपर्यो । आफु निकटकाहरुको भोल बोलाए केपी पक्षका लागि त्यो अवैधानिक हुने । अनि कार्वाहीको श्रृंखला शुरु हुने । छलफल नचलाएर चुपचाप बस्दा केपी पक्ष झनै निरंकुश हुँदै जाने ? विकल्प के यिथो ? केपीले भनेकै शब्दमा आत्मसमर्पण गरेर फर्किने या माधवको शब्दमा अन्तिम विकल्प विद्रोह । भुसाल त्यही बेला केपीले नै विभाजन गर्न खाेजेकाे बताएका पनि थिए । उनले लेखेका थिए: त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ?

अनि अहिलेकाे अपीलले के भन्छ । अहिले उनीहरु १० बुँदेमा दुबै अध्यक्ष  (केपी र माधव) इमान्दार बन्नुपर्ने तर्क दिइरहेका छन् । एकजनाले धकेल्दै जाने अनि अर्काेले इमान्दार र एकताकाे नाममा लम्पसार पर्ने ?

तेश्रो धारको चिन्तनपद्धतीले आत्मकेन्द्रीत व्यक्तिवादलाई समात्न पुग्यो । उनीहरुले चीजलाई यथार्थवादी ढंगले बुझेर पनि त्यसलाई परिवर्तन गर्ने सवालमा अस्तित्वादको सहारा लिए । पार्टीभित्र आफ्नो भूमिका भाेली के हाेला भन्ने आधारमा राजनीतिक निर्णय गर्न पुगेको आम आलोचनालाई पुष्ट्याइ गर्ने काम गरे । नत्र सामान्य विज्ञानको नियम समेत के हो भने सहअस्तित्व सम्भव नभएको अवस्थामा कि विच्छेद हुन्छ कि संघुलन हुनुपर्छ । तेश्राे धारले मध्यपन्थी धार समात्न पुग्याे । उनीहरुले विभाजन हुँदा व्यक्तिगत भविष्यकाे जाेखिम लिन पनि सकेनन  न केपीलाइ नै समर्थन गर्न सके । तर उनीहरुकाे भूमिका प्रकारान्तरुपमा उनीहरुले आलाेचना गरेकाे केपी शैलीलाइ नै लाभ दिने बन्न पुगेन र ?

तेश्रो धारका नेताहरु नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्तै आशा गरिएका व्यक्तिहरु हुन । उनीहरुको भूमिका आन्दोलनमा निर्णायक बनेको थियो र त्यो अझै पनि आवश्यक छ । त्यसैले परिस्थितिको आत्मगत समीक्षा भन्दा बस्तुगत समीक्षाका आधारमा उनीहरुले माधव नेपालको साथ दिने या आत्मसमर्पवादी कार्यशैली अपनाउने विषयमा स्पष्टता गर्नुपर्छ । किनभने पार्टी विभाजनको बस्तुगत आधार केपी ओलीले तयार गरेका हुन र अहिलेसम्मका घटना हेर्दा केपी ओलीले त्यो स्वीकार गरेर सच्चिने अवस्था देखिन्न ।

कमेन्ट गर्नुहोस्