काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी एकताका लागि तयार पारिएको १० बुँदे समझदारीलाई अध्यक्ष ओलीले पालना नगर्दा समस्या निम्तिएको बताएका छन् ।
१० बुँदे कार्यान्वयनको मुख्य जिम्मेवारी केपी ओलीको रहेकोले त्यो पालना नगर्ने हो भने पार्टीमा ठूलो विद्रोह हुने उनको भनाई छ ।
१० बुँदेलाई इमान्दारितासाथ पालना गरिएमा पार्टी जेठ २ गते अगाडिको अवस्थामा जाने उनले बताए । तर यसको इमान्दारितासाथ पालना नगरिए आफूहरुले आत्मसमर्पण नगर्ने उनले बताएका छन् ।
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दर्ताका लागि माधव नेपालले पहल गरिसकेको अवस्थामा माधव पक्षका ९ जना स्थायी कमिटीसदस्यहरुले भने १० बुँदे कार्यान्वयनमार्फत पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका हुन ।
तर अध्यक्ष ओली यसमा सहमत भएनन भने आफुहरु माधव पक्षमा नै जाने संकेत भुसालले गरेका छन् । रातोपाटीमा प्रकाशित उनको अन्तर्वार्तामा भुसालले भनेका छन्ः
१० बुँदे कार्यान्वयन नहुँदा पार्टीको एकता भएन । त्यो कार्यान्वयन गर्नुपर्ने कमरेड ओलीले हो । ओली कमरेडले १० बुँदे लागू गर्नुभएन भने ओली कमरेडसँग रहने भन्ने त प्रश्नै उठेन । यो प्रक्रिया शुरु भएदेखि, हाम्रो राष्ट्रिय कार्यकर्ता भेला भएदेखि मैले एउटै कुरा भनेको छु– एकता हुनुपर्छ, विभाजन होइन । तर, आत्मसमर्पण पनि होइन । म आज पनि आत्मसमर्पण गर्दिनँ, गर्ने पक्षमा छैन । विभाजनको पक्षमा म शुरुदेखि नै थिइनँ, छैन ।