कांग्रेसमा टुंगियाे क्रियाशील सदस्यतासम्बन्धी विवाद

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ।कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिए अनुरूप प्रतिवेदन तयार भएकाे हाे ।

आइतबार बेलुकी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेकाे लेखकले बताएका छन्।

बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील सदस्यता विवाद थियो। समग्रमा एक सय वडामा क्रियाशील सदस्यताका विवाद थिए। नेताहरूकै तवरबाट क्रियाशीलको विवाद टुंग्याइएकोले अब समस्या नदेखिने लेखक बताउँछन्।

कांग्रेसले यसअगाडि लेखककै नेतृत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति बनाएर करिब ४० दिन काम गर्दै पाँच हजार उजुरीमाथि छानबिन गरेको थियो। ९६ प्रतिशत काम सकेर बाँकी काम शीर्ष नेतृत्वबाट गर्ने गरी साउन १२ मा लेखक नेतृत्वको समितिले प्रतिवेदन बुझाएको थियो।

कांग्रेसले मंसिरमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। क्रियाशील सदस्यताका विवाद टुंगिएपछि सभापति देउवाले अध्ययन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई अन्तिम नामावली बुझाएपछि निर्वाचनको प्रक्रिया सुरू हुनेछ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने भनेको छ। वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्।

कमेन्ट गर्नुहोस्