माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, कार्यविभाजन टुंग्याइने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।

बैठकले नेकपा विभाजनपछि रिक्त रहेका बिभिन्न जिम्मेवारीको टुंगो लगाउने बताइन्छ ।

यस अन्तर्गत तत्कालका लागि केन्द्रीय समितिमा थप सदस्य थप्ने या नथप्ने विषयमा समेत निर्णय हुने छ । माओवादीले यसअघि २२ जना केन्द्रीय सदस्य थप्ने बताएपनि आकांक्षीहरु धेरै भएपछि हालका लागि केन्द्रीय सदस्यको संख्या नथप्ने एक नेताले बताए । यद्यपी यसबारेमा स्थायी समितिले नै अन्तिम निर्णय लिने उनको भनाई थियो ।

यसैगरी स्थायी समिति र केही प्रदेशमा रहेका रिक्त जिम्मेवारीका बारेमा समते आजको बैठकले निर्णय गर्नेछ ।

स्थायी समिति बैठकले सरकारमा जाने मन्त्रीहरुका बारेमा समेत निर्णय गर्ने बताइन्छ । यसअघि माधव नेपाल समूह अनिर्णित बनेका कारण मन्त्रीपरिषदमा प्रतिनिधित्वका बारेमा ठोस छलफल हुन सकेको थिएन । माधव समूहले दल दर्ताका लागि निवेदन दिइसकेको अवस्थामा माओवादीले कुन कुन मन्त्रालयमा दावी गर्ने र कसलाई पठाउने विषयमा मोटामोटी छलफल हुनसक्छ । यद्यपी यसका लागि ठोस निर्णय भने माधव नेपाल समूहले दल दर्ताको प्रमाण पाइसकेपछि हुनसक्छ ।

स्थायी समिति बैठकले जुझारु र क्रान्तिकारी संगठन निर्माणका लागि राष्ट्रिय सम्मेलनलाई विशेष बनाउन खोजेको छ । यसका लागि आवश्यक तयारी गर्न आजको बैठकले जिम्मेवारीको टुंगो लगाउन खोजेको हो ।

यसअघि केन्द्रीय समितिका बैठकले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिमा प्रस्ताव गरिएको अन्तरिम विधानअनुसार पार्टीका सबै संरचनामा समावेशी आधारमा दलित, अल्पसंख्यक, महिला र युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने चुनौती माओवादी केन्द्रका सामु रहेको छ ।

कमेन्ट गर्नुहोस्