काठमाडौं । नेकपा एमालेभित्रको विवादले नयाँ रुप लिएको छ ।
माधव नेपाललाई साथ नदिएका मध्यपन्थी नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको सहमति अनुसार, भोली एमाले स्थायी कमिटी बैठक बस्ने भएको छ ।
जेठ २ मा फर्किने सहमति भएसँगै भोलीको बैठकमा माओवादीबाट प्रवेश गरेका नेताहरु भने सहभागी हुन पाउने छैनन् । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार, आजको छलफलमा १० बुँदे कार्यान्वयनको प्रक्रियालाई अझ तिव्रता दिइने सहमति भएको हो ।
१० बुँदेको कार्यान्वय प्रयोजनका लागि भोलि मंगलवार बिहान ११ बजे एमाले स्थायी कमिटी बैठक राखिएको छ । सो बैठकमा नेपाललाई अन्तिममा साथ छोडेका स्थायी कमिटी सदस्यहरुपनि सहभागी हुने बताइएको छ ।
एमाले विभाजन हुनु अघि एकताका लागि आधार तयार गर्न गठित कार्यदलले असार २७ गते एकताका लागि १० बुँदे सुझाव दिएको थियो ।
पार्टी एकताका लागि पहल गरिरहनु भएका एमाले सचिव योगेश भट्टराईले पनि पार्टीलाई एकतावद्ध बनाउन जिम्मेवार रहने प्रतिवद्धता ओलीबाट प्राप्त भएको बताए ।
यसैबीच नेकपा एकीकृत समाजवादी दर्ताको निर्णय गरेका नेता माधवकुमार नेपाल भने आफुनिक सांसद र केन्द्रीय सदस्यसहित सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको सन्दर्भमा आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर नेता नेपाल त्यहाँ पुगेका हुन। करिब सय जनाका लागि रिसोर्टमा कोठा बुक गरिएको र सनाखतका दिन चन्द्रागिरीबाट सोझै दलबलसहित निर्वाचन आयोग पुग्ने योजना नेपालले बनाको बताइएको छ ।