काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफुहरुलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ। त्यो षड्यन्त्रलाई हामी चिर्छौंँ। कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउने हाम्रो अभियान जारी रहनेछ।
अध्यक्ष नेपालले आफूहरुसँग केन्द्रीय समिति र संसदीय दल दुवैमा २० प्रतिशतभन्दा बढी संख्या रहेको दाबी गरे । ‘हामीसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशत भन्दा बढी सदस्य हुनुहुन्छ, हामीलाई पार्टीबाट निष्कासन गरिएपछि हामीसँग नयाँ पार्टी गठन गर्नुको विकल्प रहेन,’ उनले भने, ‘यो कुनै पदका लागि, निजी लडाईँ÷झगडा होइन। यो मूल्य मान्यताको लडाईँ हो। हामी कम्युनिष्ट पार्टीलाई पूनर्गठन गरेरै छाड्छौं ।’
पत्रकार सम्मेलनमा उनले अष्टलक्ष्मी शाक्य आफ्नो चाहना र सुझावअनुसार मुख्यमन्त्री बनेको बताएका छन् । केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। कम्युनिष्ट छोड्नेसँग एकता सम्भव छैन। त्यस्तो कल्पना त्यागौँ। निर्वाचन आयोगमा दल दर्तापछि वामदेव गौतम पनि पार्टीमा आउनुहुन्छ।’