अस्पतालको सैय्याबाट खनालको सम्बोधनः मध्यपन्थी अवसरवादको आयु धेरै लामो हुँदैन

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माधव नेपालद्वारा नवगठित एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेका छन् ।

दिल्लीमा उपचारका क्रममा रहेका नेता खनालले अस्पतालको सैय्याबाटै केन्द्रीय समितिलाई सम्बोधन गरेका हुन ।

सम्बोधन क्रममा नेता खनालले मध्यपन्थमा रहेका नेताहरुले झुक्याएको भन्दै आलोचना गरे ।
मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रुप हो बताउँदै नेता खनालले यसले अन्ततः दक्षिणपन्थलाई सघाउने र यसको आयु लामो नहुने बताए ।

स्थायी कमिटीका नेताहरु एमालेमा फर्किएको तर्फ संकेत गर्दै खनालले केन्द्रमा देखिएको मध्यपन्थ करिव करिव अन्त्य भएको बताए । उनले अघि भने, ‘अब प्रदेशमा होस् वा जिल्लामा होस्, मध्यपन्थका बीऊहरु देखा पर्नेछन् ।’

त्यसलाई चिर्न दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उनले बताए । खनालले अघि भने, ‘कहिलेकाहीँ मिराकल हुन्छ । वर्षदिन नपुग्दै एउटा विशाल पार्टीले आकार लिनसक्छ, तर यसका लागि सशक्त वैचारिक राजनीतिक प्रवाह सिर्जना गर्न सक्नुपर्छ ।’

आफू अस्पतालको शय्याबाट बोलिरहेको भन्दै उनले नेपालमा रहेका साथीहरूलाई सबभन्दा पहिला पार्टी दर्ता गर्न सुझाव पनि दिए । ‘पहिला पार्टी दर्ता गरौँ त्यसपछि पार्टीका नीति सिद्धान्त अपडेट गर्नुपर्छ’, खनालको सुझाव छ । उनले एमाले स्थायी समितिका धेरै साथीहरूलाई मध्यपन्थी दृष्टिकोणले निकै नराम्रोसँग अल्झाएको बताए ।

कमेन्ट गर्नुहोस्