काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमालेको वर्तमान नेतृत्वसँग कुनैपनि किसिमको संवाद नहुने बताएको छ ।
आज निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर सनाखत गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नवगठित दलका नेता मेटमणी चौधरीले केपी ओली अध्यक्ष रहँदासम्म एमालेसँग एकताका लागि कुनै छलफल नहुने स्पष्ट पारे । ‘केपी ओली अध्यक्ष रहँदासम्म एमालेसँग, सहमति, सहकार्य र एकता हुँदैन’ उनले भने ।
नेकपा एमाले स्थायी समितिले दल दर्ताको प्रक्रिया छोडेर आएमा कार्वाही नगरिने बताएको भोलीपल्ट माधव नेपाल पक्षले दल दर्ताको अन्तिम प्रक्रिया पुरा गरेको छ । चौधरीले भने केपी ओलीले कम्युनिष्ट आन्दोलन कमजोर र विभाजन पार्न मुख्य भूमिका खेलेको आरोप समेत लगाए ।
क्रान्तिकारी कम्युनिष्टहरुसँग एकताको पहल शुरु भएको बताउँदै चौधरीले आगामी केही महिनामा एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनको केन्द्र बन्ने आस व्यक्त गरे ।
बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका उनले पत्रकारसँगको कुराकानीमा उनले भने, ‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैछ । यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ । ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन वैद्यलगायत सबै राजनीतक दलबीच एकता हुन्छ ।’