विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधर राईले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्।
प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो।
वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।
आज बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाई भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो।
प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन्।
एमाले विभाजनपछि प्रदेश १ को संसदीय दलको बैठक पहिलो पटक बसेको हो । माधव कुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाइँदैछ।
माधव नेपाल पक्षका आचार्यसँगै बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लिलाबल्लब अधिकारी, यसोधा अधिकारी र साबित्री जोशी एमालेमै खुलेका छन्।