केपीले दुई–दुई पटक संसद् विघटन गरेको औचित्य साबित भइरहेको छ’ भन्दा मध्यपन्थी साथीहरु थपडी मार्दै थिए– झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका शीर्ष नेता झलनाथ खनालले मध्यपन्थी धारले केपी ओली प्रवृतिसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा नेता खनालले पार्टीमा अन्तरविरोध चर्केको बेला मध्यपन्थी अवसरवादको उदय हुने बताउँदै दक्षिणपन्थको विरोध गर्ने साथीहरु नै त्यसको समर्थनमा उभिएको आरोप लगाएका हुन ।

मध्यपन्थ पनि अवसरवादकै एउटा रुप हो भन्दै नेता खनालले दश बुँदे सहमति प्राविधिक मात्रै भएको र त्यसको वैचारिक आधार नभएको स्पष्ट पारे । मध्यपन्थी साथीहरुले प्राविधिकरुपमा सहमति गरेको भएपनि उनीहरुले उठाएका वैचारिक मुद्दालाई आगामी दिनमा कसरी हल गर्छन् भन्ने कुरा महत्वपूर्ण भएको उनको भनाई थियो ।

याे पनि पढ्नुस  माधव नेपालको प्रश्नः केपी ओलीलाई सम्झाइदिने कोही धामी, झाँक्री छन् कि ?

पढौं नेता खनालको अभिव्यक्तिको एक अंशः

जब कुनै पार्टीमा विद्रोह भइरहन्छ, त्यस बेला दुई–तीन खालका चिन्तनहरू प्रकट हुन्छन् । एउटा दक्षिणपन्थी अवसरवादी चिन्तन, त्यसको मूल नेता केपी ओली हुन् । अर्को विद्रोही क्रान्तिकारी दिशा जसलाई हामीले प्रतिनिधित्व गरेका छौं । र, कहिलेकाहीँ दुइटा चिन्तनको बीचमा मध्यपन्थी चिन्तन पनि प्रकट हुन्छ । त्यो अस्थायी रूपमा आउँछ, आयु लामो हुँदैन । त्यसले दुवैतर्फ सम्झौता गराउने कोसिस गर्छ । र, अन्तिममा त्यसको लाभ दक्षिणपन्थलाई पुग्छ । मध्यपन्थको चिन्तन पनि अवसरवादकै एउटा रूप हो ।

साथीहरूले एकताको सम्भावना बढी देख्न थाल्नुभयो । र, आखिरमा गएर वार्ताकार साथीहरू र केपी ओलीका बीचमा १० बुँदे सम्झौता भयो । त्यो प्राविधिक एकता हो, वैचारिक होइन । वैचारिक र राजनीतिक एकता नभईकन कुनैपनि पार्टी एकताबद्ध हुँदैन । उहाँहरू त्यहाँभित्र त जानुभयो, अब केपी ओलीको दक्षिणपन्थी, अवसरवादी कार्यदिशा लागू गर्नुहुन्छ कि ? उहाँहरू आफ्नो पुनर्गठनको कुरा गर्नुहुन्छ ? उहाँहरूका सामुठूलो संकट छ । मैले हिजोअस्ति सुन्दै थिएँ— केपी ओली ‘मैले दुई–दुई पटक संसद् विघटन गरें, त्यसको औचित्य साबित भइरहेको छ’ भनेर कराउँदै हुनुहुन्थ्यो । र, ती साथीहरू थपडी मार्दै हुनुहुन्थ्यो । अनि उहाँहरूले दक्षिणपन्थलाई मद्दत गरेको हो कि, दक्षिणपन्थसँग जुधेको ? बाठो लड्छ तीन बल्ड्याङभएको हो यो । एमालेभित्र बसेर, नेतृत्वमा पैदा भएको दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकरवाद र व्यक्तिवादका विरुद्ध लडाइँ लड्न सक्नुहोस्, पार्टीलाई रूपान्तरण गर्न सक्नुहोस्, मेरो उहाँहरूलाई शुभकामना छ । र, हामी भविष्यमा एउटै मञ्चमा पुग्नेछौं ।

याे पनि पढ्नुस  पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैनः खनाल

एमालेको २० प्रतिशत हिस्साभनेको कानुनको आधार मात्रै हो । हामीसँग त्योभन्दा धेरै प्रतिशत मानिस छन् । सनाखत पनि कतिपय सांसदलाई गर्न दिइएन । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी छनोट गर्न २१ दिनको समय बाँकी छ । हेर्दै जानुहोला, कार्यकर्ता पंक्तिको ठूलो संख्या हामीसँग हुनेछ ।

याे पनि पढ्नुस  भीम रावलको आरोप- विदेशी गुप्तचरसँग राति साउती गर्ने ओलीले अनिष्ट निम्त्याए

कमेन्ट गर्नुहोस्