खनाल भन्छन्- ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले पार्टीबाट विद्रोह गर्नु पर्‍यो

नारायणप्रसाद ढुंगाना । काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट आफूहरूले विद्रोह गर्नुपरेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरूले विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको तर्क गरे ।

भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका उनले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि विद्रोह गरिएको उल्लेख गर्दै त्यो विद्रोह नव निर्माणका लागि भएको बताए ।

वरिष्ठ नेता खनालले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । उनले निजी स्वार्थलाई लिएर पार्टीमा नआउन पनि आग्रह गरे । वरिष्ठ नेता खनालले भने, ‘यो विद्रोह हो । विद्रोह सिर्जनाको निम्ति हो । विद्रोह उज्ज्वल भविष्यको निम्ति हो । त्यो प्राप्त गर्नका लागि एकतावद्ध भएर अगाडि बढ्न म सबैलाई आह्वान गर्दछु ।’

वरिष्ठ नेता खनालले आफूले पार्टीमा कार्यकारी पदको दावी नगर्ने पनि स्पष्ट पारे । पार्टीभित्र कार्यकारी पदको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उनले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरूलाई पनि त्यसै गर्न आग्रह समेत गरे ।

वरिष्ठ नेता खनालले भने, ‘म ७० वर्ष पुगिसकेका हुनाले मैले अब कुनै कार्यकारी पदमा दावी गर्ने विचार गरेको छैन । तर पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि चाँही मैले ठाउँ राखेको छु ।’

वरिष्ठ नेता खनालले आफू बाचुन्जेल देश, राष्ट्र, राष्ट्रियता र क्रान्तिकारी कुम्यनिष्ट पार्टीको निर्माण र विस्तारमा समर्पित गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वरिष्ठ नेता खनाललाई स्वागत गर्न नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायत बिमानस्थलमा पुग्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्