कथाः कमरेडको जिब्रो

पुण्य कार्की

कामरेड गोकुलमान दिनभरि छाप्रेहरुको घरआँगनमा हुन्छन् । हले कोदाले बनीबुतो गरी पेटपाला गर्ने बनियाँर, गोठाला, खेताला श्रमिक–किसानको वीचमा संगठन गरी हिँड्ने, उनीहरुको चेतना तिखार्न बस्ती–बस्ती चाहारी हिँड्ने कामरेड; बेलुका बास बस्ने वेलामा झुप्रीलाइनबाट हमेसा अलप हुन्छन् । सर्वहारा साम्यवादको फूलजडी सपना देखाउने उनी रातिराति कहाँ जान्छन् ? के खान्छन् ? र कसको घरमा सुत्छन् ? रहस्यको विषय थियो ।

                                               पुण्य कार्की

+++++

छाप्रेको घरआँगनमा जनवाद, त्योभन्दा माथिको समाजवाद अझ त्योमाथिको साम्यवाद ल्याउन अहोरात्र बस्तीबस्ती जागरणको विकुल फुकी हिँड्ने मानिस रातिराति कहाँ जान्छन् ? भन्ने विषयमा एका दुई जिज्ञासु छाप्रेहरुको मनमा खुल्दुली पैदा भयो ।

छाप्रे नं.१ ले भन्यो– “होइन हाम्रो कमरेड ! राति कहाँ बास बस्छन् ? दिनभरि त हाम्रै सम्पर्क हुन्छन्, साँझ परेपछि अलप हुन्छन् त ! ”

छाप्रे नं.२ ले संशय पोख्यो– “त्यही त म पनि चकित छु । दिनभरिको राजनीतिक काम छाप्रेटोलमा सम्पन्न गरेपनि रातको बास त कहिल्यै हाम्रो टोलमा हुन्न ।”

छाप्रे नं.३ ले उही शंका पोख्यो–“हाम्रा यी पहाडी गाउँमा बासका लागि होटेल लज पनि छैनन् ? जान्छन् त यी कहाँ जान्छन् ?”

छाप्रे नं.१ ले रहस्यदर्शी कुरा ग¥यो– “होइन यी त माप्पाका मान्छे हुन् । रातभरि हिँडेर तीन दिनको बाटो एक दिनमा पार गर्छन् अरे ।”

छाप्रे नं.२ ले आपत्ति जनायो–“ ए बाबा ! तीन दिनको बाटो एकै दिनमा काटे पनि खाना खानु पर्दैन । उसले सुत्नु पर्दैन ? कि यिनको भुँडी छैन ? भुँडी त छ त । आँखालाई सुत्नु त पर्छ होला ।”

छाप्रे नं. ३ जुर्मुराउँदै बोल्यो– “आँटो ढिँडो रोटो लट्टे गुन्द्रुक पाक्ने छाप्रे बस्तीमा यिनको बास नभएपछि कुरा विकट रहस्यमा अल्झिएको छ साथी हो ! यो विकट रहस्यलाई ढिलोचाँडो उत्खनन् गर्नैपर्छ ।”

छाप्रे नं. १ ले साथीकै कुरामा सहमति जनायो– “कुरा मनासिव हो । छाप्रे टोलमा त उनी मरिगए बास बस्तैनन् । अव पक्की टोलामा रेकी गर्नुपर्छ । त्यहाँ छापा मानुपर्छ ।”

छाप्रे नं. २ र ३ ले हो मा हो मिलाए– “हो हो साथीले खास्साको उपाय निकाल्यो । छाप्रे टोलमा उनी बास नबसेपछि पक्कै रातिराति पक्की टोलमा बास बस्न जान्छन् क्यार !”

सबैको मनमा एउटै शंका दरिलो बन्यो ।

+++++

आकारमा निकै चाक्लो क्षेत्रफलमा फैलिएको त्यस गाउँमा दुइटा टोल चर्चित थिए ।

एउटा थियो सयकडा सत्तरी प्रतिशत हाडतोडा मिहेनत गरी बाँच्ने छाप्रेहरुको झुपडबस्ती । मान्छेहरु यस बस्तीलाई छाप्रे बस्ती पनि भन्ने गर्छन् । यस बस्तीका छानो खरपराल र थाकलले छाइएका छन् ।

तर गाउँको अर्को पाटोमा रहेको पक्की बस्तीमा अधिकाँश घर टिनले छाइएका छन् । टिन नभएपनि टायल र झिँगटीले छाइएका छन् । सायद घरका बान्की बनावट र छानो हेरेर मान्छेहरुले टोलको नामकरण गरेका हुँदा हुन् ।

याे पनि पढ्नुस  शिवलाई पाउन पार्वतीले लिएकी थिइन् १०८ जन्म, तीजमा शुभफलका लागि अचुक १२ मन्त्र

छाप्रे टोललाई कसैले कच्ची टोल भन्छन् । कसैले छाप्रे गाउँ भन्छन् । कसैले झुप्रीलाइन भन्छन् । कसैले बुकुरा वस्ती भन्छन् । कसैले हलिया टोल भन्छन् । कसैले दुखिया टोल भन्छन् । पक्की टोललाई कसैले पक्की लाइन भन्छन् । कसैले पक्कीगाउँ भन्छन् । कसैले मुखियाटोल भन्छन् । कसैले महाजन लाइन भन्छन् । जसले जसरी उच्चारण गरे तापनि यी नामहर सुपाच्य नै बनिआएका छन् ।

नामअनुसार पक्कीटोलमा सम्पन्न मान्छेहरु छन् । वर्षभरि रुखोसुखो होइन, मिठामसिनो नै खानपुग्छ । दालभात, तरकारी, दूध, दहीघिउ, अण्डा, माछा, मासु र फलफूल सेवन गर्न कुनै अभाव छैन यहाँ । तर कच्चीटोलमा बनी–बटियादार रहेकोले खानलाउनकै समस्या छ ।

यी दुइटा बस्तीलाई एउटा ठाडो बाटोले छुट्याएको छ । बाटोदेखि पूर्वमा छ झुपड् बस्ती । पश्चिममा छ महाजन बस्ती । एउटामा भातको वरिपरि कम्तिमा तीनदेखि पाँचवटा कचौराको घेरा लाग्छ । अर्कोमा एक भात एक तिहुनको नियति छ । बल्लबल्ल भात जुटायो, दाल हुन्न । दाल जुटायो तरकारी हुन्न । दैनिक दूधघिउ र माछामासु त उनीहरुको कल्पनादेखि बाहिरको कुरा हो ।

+ + + +

एक दुई तीन नम्बरका छाप्रेहरुले कामरेड गोकुलमानको विषयमा सूक्ष्म निगरानी गर्न थाले । नजानिँदो ढंगले यी मान्छे रातिराति कहाँ जान्छन् ? कहाँ बस्छन् ? के खान्छन् ? चियो गर्न थाले ।

वास्तवमा उनीहरुले गरेको प्रारम्भिक शंकाबमोमित ऊ बास बस्न लुसुक्क पक्कीटोल छिर्दोरहेछ ।

पक्कीटोलको धेरैको भान्सामा पाक्ने बासमति धानको भात, कालोदाल, खसीको भुटुवा उसको पेटमा उदरस्त भैसकेको छ । ती टोलका मान्छेहरुको पनि ऊप्रति एक किसिमको आदर छ । बाहिरी नजरले उसलाई मन नपराइएको अभिनय गरेपनि घरमा आएपछि सम्मानका साथ मिठोमसिनो खुुवाएर राम्रै शयनकक्षमा सुकला गराउँछन् ।

पक्कीटोलमा छिरेपछि रात्रिकालीन समयमा दसपाँचजना पक्कीटोलेहरु ऊसित राजनीतिक बात मार्न, समसामयिक विषयका जिज्ञासा राख्न भेलाहुने गर्छन् ।

एकरात यस्तै भेलामा पक्कीटोलेले ऊमाथि प्रश्नहरुको वर्षात् छरे ।

पक्कीटोले नं. १ ले गम्भीर संशय पोख्यो– “क्याहो ? तपाईहरुले ल्याउने कम्युनिष्ट व्यवस्थाम ाहाम्रो सबै सम्पति राष्ट्रियकरण हुने पो हल्ला छ त !”

कामरेड गोकुलमान गला साफ गर्दै बोल्यो– “कहाँ राष्ट्रियकरण हुन्छ ! हाम्रो पार्टीको स्पष्ट नीति छ; हामी राष्ट्रिय पूँजिपतिवर्गलाई साथमा लिएर अघि बढ्छौँ । देशभित्रका धनीमानीहरुको धनलाई उत्पादन कार्यमा लगानी गर्न प्रोत्साहित गर्छौँ । तपाईहरुको पूँजीलाई नै संरक्षण र सुरक्षा दिएर देशमा समृद्धि ल्याउने हाम्रो योजना हो ।”

पक्कीटोले नं.२ ले अर्को जिज्ञासा थप्यो– “अनि छाप्रेहरु त अब यी सामन्त जिम्दारहरुको खेतबारी हाम्रो हुन्छ भनेर चुमचुम गरिरहेका छन् त !”

गोकुलमानले सक्पकाउँदै जवाफ दियो–“ए ए ! त्यो त वास्तविक कुरा नबुझेर त्यसो भनेका हुन् । तिनीहरुलाई यो कुरा बुझाउन बाँकी नै छ ।”

याे पनि पढ्नुस  कथा : राष्ट्रसेवक

पक्कीटोले नं.३ ले अर्को अप्ठ्यारो प्रश्न तेस्र्यायो– “धनीमानीहरुको श्रीसम्पति कब्जामा लिएर तिमी सुकुम्बासीहरुलाई वितरण गरिदिन्छौँ भनेर तपाईले नै छाप्रेहरुलाई उकासेको कुरा पो आएको छ त !”

कुरा गोकुलमानले प्रष्ट ग¥यो– “हेनुस् राजनीतिमा अनेक दाउपेच गर्नुपर्छ । कतिपय सन्दर्भमा भन्ने कुरा एउटा, गर्ने कुरा अर्को हुन्छ । कथनी एउटा हुन्छ, करणी अर्को हुन्छ । भोटको राजनीतिमा आएपछि त्यसो नगरी आफ्नो पक्षमा माहौल बनाउन सकिँदैन ।”

पक्कीटोले नं.१,२,३ लाई उसको कुरामा साह्रै चित्त बुझ्यो ।

“त्यसो भए आगामी चुनावमा तपाईहरुको पार्टीलाई हामीले निर्धक्क भोट हाल्दा हुन्छ ।” यो पक्कीटोलेको सामूहिक जिज्ञासा थियो ।

कामरेडले उनीहरुलाई आश्वस्त गर्दै भन्यो–“ किन नहुनु राजतन्त्र सहितको अहिलेको व्यवस्थामा राजा विरेन्द्रले पनि हाम्रो पार्टीलाई भोट दिए भने त्यो भोट खुशीसाथ ग्रहण गर्दछौँ ।”

पक्कीटोलेका यस्ता अनेकन जिज्ञासाका गाँठा उसले एकै रातमा फुकाइदियो । उनीहरुलाई प¥यो–यस मानिसलाई त हामीले गलत नजरले पो हेरेका रहेछौँ ! मान्छे त यी खास्सा हाम्रै पक्षका रहेछन् । पक्कीटोलेको यो निष्कर्ष पनि स्वभाविक थियो । किनभने रातसाँझ बास बस्न ऊ पक्कीटोललाई नै सम्झिने गथ्र्यो ।

उनीहरुले उसलाई आदरका आँखाले हेर्न थाले । रातिराति राडी बिच्छ्याएर अतिथिदेवो मान्नथाले । उसले पनि पक्कीटोलको मिठोमसिनो खाँदै कच्चीटोलको राजनीतिक रोटी सेकाइरह्यो ।

+++++

आज अचानक गोकुलमान छाप्रे बस्तीमा छाप्रेहरुद्वारा घेरियो । हिजोका दिनको भन्दा अलिक फरक सन्दर्भ र विषयवस्तुमा विवाद चलिरहेको छ ।

पहिले पहिले उसका कुरालाई छाप्रेहरु कुनै देववाणीको वर्षात् भएजस्तो नतमस्तक भएर सुन्थे । उनीहरु उसलाई कुनै अर्को लोकबाट आएको अलौकिक मुक्तिदाता या नायकको रुपमा हेर्थे ।

आज छाप्रेहरु बागी औँलो उठाएर प्रश्नका झटाराहरु फ्याँकिरहेका छन् ।

वाचाल बुद्धिको गोकुलमान मिलाइमिलाइ उत्तर पस्किरहेको छ ।

छाप्रे नं.१ ले आपत्ति जनाउने किसिमले उसको प्रवृत्ति उपर प्रहार ग¥यो–“ होइन राजनीति हाम्रो वर्गको गरेपनि खानबस्न त लुसुक्क पक्कीटोलमै पुग्नुहुँदोरहेछ । के त हामी पनि मीठो नभएपनि एकछाक सिँदोपिठो त खुवाउन सक्थ्यौँ नि !”

उसको प्रश्नले गोकुलमान केही सक्पकायो । तुरुन्त समालिएर बोल्यो– “नेपालीमा एउटा उखान छ नि जसको जौ खानु उसकै जुँगा मोल्नु । हाम्रो नीति नै यो छ कि त्यस वर्ग विरुद्धको राजनीतिउ नीहरुकै श्रीसम्पत्तिबाट गर्ने हो । उनीहरु पुगिसरी आएका हुन्छन् । हामीसित पर्याप्त स्रोतसाधन छैन । उनीहरुकै खाने हो । उनीहरुसितै क्रान्तिको निम्ति चन्दा लिने हो । यो त पार्टीको आन्तरिक नीति नै हो कामरेड ।”

छाप्रे नं.२ ले असन्तुष्टि पोख्यो– “यो त नैतिकताको राजनीति भएन कमरेड ! यसखालको दुईजिब्रे नीति र व्यवहारले कदापि राम्रो गर्दैन । तपाईको दोहोरो चरित्रले हामी रनभुल्लमा परेका छौँ ।”

याे पनि पढ्नुस  कथाः प्रेम, स्वार्थ र घमण्ड

कामरेड गोकुलमानले असजिलो गरी उत्तर दियो– “हेर्नुुस् कामरेड ! राजनीतिमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । राजनीति हो कहिले दायाँ जानुपर्छ, कहिले वायाँ जानुपर्छ । सधैँ जड भएर पनि हुँदैन । बहुदलीय राजनीति हो, यसमा कुनै वर्ग र पक्षको मानिसलाई अछुतको व्यवहारपनि त गर्नु भएन नि ।”

छाप्रे नं. ३ चर्कोसित पड्क्यो– “पहिलेपहिले तपाई नै भन्नु हुन्थ्यो त; बाघ र बाख्रालाई एउटै खोरमा राखेर न्याय हुन्न । आज त तपाई बाख्राको हितको कुरा गर्दागर्दै बाघको हितको पो कुरा गर्न थाल्नुभयो त ! कुरामात्र होइन खानबस्न पनि बाघकै खोरभित्र पुगिसक्नु भो ।”

छाप्रेको यो जवाफ उसको निम्ति अनपेक्षित जवाफ थियो । ऊ एकछिन त के भन्नु न के भन्नु अकमम्क बन्यो ।

उसले मनमनै गम खायो– होइन छाप्रेहरु त ज्याद्रा भैसकेछन् । अव त यिनीहरु आगो बनिसकेछन् आगो ! आफ्नो विरुद्धमा यसरी आगो ओकल्छन् भन्ने कुरा कल्पनासम्म पनि गरेको थिएन ।

मनमनै सोच्यो– अव यिनका आँखामा छारो हाल्न नसकिने रहेछ । नत्र म यति गुपचुप रुपमा पक्कीटोलमा बसेको खाएको कुरा कसरी एकएक गरी निकाल्न थाले । उसलाई आफ्ना कमजोरीपनि महसुस भयो ।

छाप्रेहरुले मजाले नै ¥याखपाटा खेलाएपछि उसले रातिराति बास बस्न पक्कीटोल जानुमा गल्तीकमजोरी भएको कुरा स्वीकार ग¥यो ।

ऊ छाप्रेहरु सामु क्वाँ भयो– “हेनुस् ! यो मेरो फटाहा जिब्रो कहिल्यै कम्युनिष्ट हुन सकेन । कहिल्यै साम्यवादी बन्न सकेन । मान्छे त म तीस वर्षदेखि कम्युनिष्ट भएर यसै दर्शनको राजनीतिमा हेलिएको छु । चामल र मकैको भातमा समता स्वीकार गर्दैन यो जिब्रो । यसलाई ढिँडो रोटो रुच्तैन । बासमति र मसिनाकै भुजा चाहिन्छ । यसलाई सिन्कीगुन्दु्रक पसन्द हुँदैन । माछामासु र दूधघिउकै रसादि चाहिन्छ । त्यसैले पनि बास बस्न र खानपिउन पक्कीटोल पुगेको हुँ । मीठो मसिनो पकवानको लालची दास छ जिब्रो ।”

उसको स्वीकारोक्ति सुनेपछि प्रश्नकर्ता छाप्रेहरुले यत्तिलामो जिब्रो काढे । केहीवेर गम खाँदै एउटा छाप्रे बोल्यो– “कामरेड तीन इन्चीको जिब्रोको स्वादको निम्ति छाप्रेहरुका सपनाहरुको सौदावाजी नगर्नु होला …………।”

अर्को छाप्रेले फेरि थप्यो– “मान्छेहरुले तीनइन्चीको जिब्रोको स्वादले पाँचहातको शरीर बिगारेका छन् । तपाईको स्वादे जिब्रोले गरिखाने वर्गको राजनीतिलाई धरापमा पार्न बेर छैन होशियार हुुुनुहोला…….. ।”

औपदेशिक शैलीमा छाप्रे बोल्दै गए । आआफ्ना मनको भँडास पोख्तै गए । गोकुलमान उनका आप्तवचनलाई ट्वाँ परेर सुनिरह्यो । ऊ त्यसैत्यसै लाटोजस्तो भो । यो पालि भने जिब्रो चपाएरपनि केही बोल्न सकेन ।

(उदयपुर)
नेपालीसाहित्यबाट साभार

कमेन्ट गर्नुहोस्