युवा नेतृत्वले जनयुद्ध हाँकेको पार्टीमा युवालाई नै आरक्षण दिनुपर्ने अवस्था किन आयो ?

  • ओमविक्रम भाट ‘सरल’

विश्वमा ठुल्ठुला इतिहास र विरासत बोकेका संस्कृति र सभ्यता बोकेका राज्य र शासनहरु भत्केका कैयन देख्दै पढ्दै र सुन्दै आएका छौँ । । कुनैपनि व्यवस्था सभ्यता र संस्कृति तब ढल्न अनिवार्य हुन्छ जब समय र समाजको गतिभन्दा कैयौं गुणा पछाडि छुट्छ । त्यस्तो अवस्थामा व्यवस्था, सभ्यता र संस्कृति एकातिर हुन्छ भने समय, समाज र सामाजिक मनोविज्ञान अर्कोतिर हुनजान्छ । ती दुईको संघर्षबाट नयाँ व्यवस्था सभ्यता र संस्कृतिको जन्म हुन्छ । यसलाई मार्क्सवादीहरु प्राकृतिक नियम मान्छन् । तर सबैभन्दा वैज्ञानिक र साम्यवादी विचार बोकेका कम्युनिस्टहरु छिटै पतन र धारासयी किन हुन्छन ?

मार्क्सवादले अवलम्बन गरेका समाज विकास, अर्थतन्त्रको अवधारणा र समाजभित्रको वर्गीय अवस्था र मुक्तिबारे सबैभन्दा उत्कृष्ट ढंगले ब्याख्या गरेको छ। फेरिपनि कम्युनिस्ट आन्दोलन सबैभन्दा बढी विभाजन र पतनमा किन पुग्छ ? कम्युनिस्ट पार्टीहरु केन्द्रियता र जनवादका कुरा गर्छन ब्याख्या विष्लेशण गर्छन । तर, व्यवहारमा किन लागु गर्न सक्दैनन् ? यी आम रुपमा उठाइने गम्भीर प्रश्न हुन् ।

मार्क्सवाद र लेनिनवाद सबै कम्युनिस्टहरुको मार्गनिर्देशक सिद्धान्त हो । केही कम्युनिस्ट पार्टीहरुले माओवाद वा विचारधारालाई पनि आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै आएका छन् । तर, मालेमावाद लेखेर टाँसिएका ब्यानर वा बोर्डले मात्र मार्क्सवादको व्यवहारिक कार्यान्वयन भएको मानिँदैन । ती विचारहरुको कार्यान्वयन र समयसापेक्ष विकास अनिवार्य शर्त हो । त्यो गर्न नसक्नुनै कम्युनिस्ट पार्टीहरु कमजोर बन्नुको मुख्य कारण हो ।

अहिलेको युग डिजटल युग हो । यो डिजिटल युगमा हामीले हुलाकमार्फत वा परेवाको खुट्टामा सन्देश बाँधेर आदानप्रदान गर्न सक्दैनौँ । यो समय सापेक्ष हुँदैन । हिजो मोबाइल आउँदा केवल फोन गर्न र सिमित शब्दको सन्देश पठाउन सकिन्थ्यो । आज सबै काम मोबाइलबाट गर्न सम्भव भएको छ । यो प्रविधिको विकास हो । यदि मोबाइल निर्माताले केवल फोन गर्न र सन्देश पठाउन मात्र सिमित गरेको भए अहिलेको ‘५जी’ आउने थिएन होला । त्यसैगरी मार्क्सवाद पनि केवल धर्मग्रन्थ गीता, कुरान वा वाइबल होइन जसमा लेखिएका शब्द अक्षरस पालना गर्नुनै धर्म मानिन्छ । मालेमावाद विज्ञान हो । यसलाई विज्ञान कै रुपमा ग्रहण गर्दै व्यवहारिक कार्यान्वयनमा लैजानु पर्छ ।

माओवादी नेतृत्वले बुझ्नै पर्ने कुरा के छ भने जनयुद्ध थालनी गर्दा पनि बुढाहरुले होइन युवाले साथ दिएका थिए । तत्कालीन महामन्त्री प्रचण्ड स्वंयम ४१ वर्षका थिए । केन्द्रिय कमिटीमा ९९ प्रतिशत ४० मुनिका थिए । अहिले ४० मुनिकाका लागि आरक्षण दिनुपर्ने अवस्था किन आयो ?

नेपालमा राजनीतिक परिवर्तनहरु निरन्तर हुँदै आएका छन् । धेरै व्यवस्था ढल्दै आएका छन् । क्रान्ति र आन्दोलनहरु सफल हुँदै आएका छन्। तर तिनै सत्ताप्राप्ति पश्चात ढलेका पनि छन् । नेपालमा पछिल्लो एवं नेपाली इतिहासकै ठुलो र लामो जनयुद्ध (१० वर्ष) भयो । माओवादी शान्ति प्रक्रियामा आए पश्चात् मुलुककै ठुलो र निर्णायक शक्ति पनि बन्यो, तर टिक्न सकेन । त्यसको निर्मम समीक्षा र विष्लेषण गर्न जरुरी छ । कम्युनिस्टहरु ठुल्ठुला क्रान्ति र आन्दोलन गर्न सक्छन् । परिवर्तनको नेतृत्व पनि गर्छन । तर, प्राप्त उपलब्धीलाई संस्थागत गरेर टिकाउन किन सक्दैनन् ? यो महत्त्वपूर्ण प्रश्न हो । कम्युनिस्टहरुसँग एजेन्डा हुन्छन्, वर्ग हुन्छ, जनता हुन्छन् । तर, सत्ता प्राप्तिपछि जनतासँग किन टाढिन्छन् ? यो अर्को गम्भीर प्रश्न हो ।

हाम्रै मुलुकमा पनि कम्युनिस्ट आन्दोलन जुन रफ्तारले अगाडि बढ्यो त्योभन्दा द्रुतगतिमा विघटन पनि हुँदै आइरहेको छ । यसको समीक्षा गर्नुपर्ने देखिन्छ । पछिल्लो दुई अढाई दशक यताका घटनाक्रम हेर्ने हो भने जुन गतिमा माओवादी जनयुद्धको विकास भयो र २०५८- २०६९ सम्म माओवादी जसरी केन्द्रमा रह्यो त्यसपश्चात फेरि ओरालोको यात्रामा लाग्यो । यसको गम्भीर समीक्षा गरेर मात्र माओवादी आन्दोलन अगाडि बढ्न सक्छ ।

आज मुलुक संस्थागत र संविधानत माओवादीको एजेन्डामा चलिरहेको छ । तर, नेतृत्व माओवादीको छैन । यसै अवस्थामा तत्काल माओवादी फेरि नेतृत्वमा पुग्ने आधार देखिँदैन । त्यसकारण माओवादी आन्दोलनको निर्मम समीक्षा गर्दै बुनियादी ढंगबाट पुनर्गठनको आवश्यकता छ ।

माओवादीको विचार, राजनीति स्पष्ट छ । तर, समाजवादी कार्यदिशा स्पष्ट छैन । जाने समाजवादमा नै हो । तर, कस्तो समाजवाद ? कुन समाजवाद वा हाम्रो समाजवादी मोडेल के हो ? यी विषय स्पष्ट पार्न सक्नुपर्छ । परम्परागत ब्याख्याले अब काम गर्दैन । नयाँ ब्याख्या र नयाँ सपनायुक्त समाजवादी मोडेल चाहिन्छ । जसमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकोस् । विगत जनयुद्धको क्रममा युवा, दलित, जनजाति, मधेसी, महिला पिछडिएको समुदाय र समग्र सर्वहारा वर्गले जुन सुनौलो भविष्य देखेका थिए । माओवादी नेतृत्वले उक्त सपना देखाउन सफल भएको थियो । त्यसैको बलमा जनयुद्ध सफल भयो । प्रचण्डले जुन-जुन एजेन्डा भन्नुभयो ति सबै लागु भए । तर, कार्यान्वयन गर्ने तरिका र प्रक्रियामा माओवादी अल्झिदा पार्टीमा टुटफुट सुरु भयो । प्राप्त उपलब्धी संस्थागत हुन् सकेनन् । अब फेरि प्रचण्डले नयाँ समाजवादी कार्यदिशा अगाडि बढाएर अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्दै आर्थिक विकास र आमजनजिविका स्तर वृद्धि गर्ने कार्यक्रम अगाडि सार्न सक्नुपर्छ । तबमात्र माओवादी आन्दोलनले फेरि उचाई प्राप्त गर्न सक्छ ।

माओवादी अब परम्परागत प्रणालीमा होइन, संगठन निर्माणमा नयाँ मोडेल अगाडि सार्न सक्नुपर्छ । अहिलेसम्म माओवादी चुक्दै आएको संगठन निर्माण र सांगठनिक ढाँचामा हो । पछिल्लो वाइसीएलको राष्ट्रिय भेलाबाट पाठ सिक्न जरुरी छ । अहिलेको राजनीतिमा केन्द्रियता वा मेरिटले मात्र काम गर्न सक्दैन । यो प्रतिस्पर्धात्मक राजनीतिमा नयाँ र फ्रेस युवाहरुलाई केन्द्रित गर्दा टिका लगाएर होइन प्रतिस्पर्धा गराएर ल्याउनुपर्छ । तब मात्र समाजवादी यात्रा सहज हुनसक्छ । माओवादी नेतृत्वले बुझ्नै पर्ने कुरा के छ भने जनयुद्ध थालनि गर्दा पनि बुढाहरुले होइन युवाले साथ दिएका थिए । तत्कालीन महामन्त्री प्रचण्ड स्वंयम ४१ वर्षका थिए । केन्द्रिय कमिटीमा ९९ प्रतिशत ४० मुनिका थिए । अहिले ४० मुनिकाका लागि आरक्षण दिनुपर्ने अवस्था किन आयो ? यसको समीक्षा गर्ने कि नगर्ने ? त्यसकारण बदलिँदो परिस्थितिमा युवा ५० प्रतिशत प्रौढ ३० प्रतिशत र बृद्ध २० प्रतिशतको निति किन लागु नगर्ने ? आज कांग्रेसमा १९ वर्षीय युवती वडा सभापति बन्दा मिडियाका प्रमुख समाचार बन्ने अवस्था आउँदा हिजो जनयुद्धमा १२, १३ वर्षका किशोर किशोरीहरु मुक्ति र मृत्यु स्विकार्दै लागेकाहरु के सोचिरहेका होलान ?

आज कांग्रेसमा १९ वर्षीय युवती वडा सभापति बन्दा मिडियाका प्रमुख समाचार बन्ने अवस्था आउँदा हिजो जनयुद्धमा १२, १३ वर्षका किशोर किशोरीहरु मुक्ति र मृत्यु स्विकार्दै लागेकाहरु के सोचिरहेका होलान ?

यसको समिक्षा गर्ने कि नगर्ने ? माओवादी पार्टी एक नम्बर बन्नैपर्छ । त्यो नबन्दा यो संविधान र व्यवस्था नै टिक्दैन । समाजवाद धेरै परको विषय हो । हामीले एक नम्बर हुन्छौँ भनेर हुँदैन । एक नम्बर हुनलाई एक नम्बरका युवाहरू हामीसँग हुनेकि नहुने ? भन्ने प्रश्नले हाम्रो स्थान निर्धारण गर्ने हो । यो कुरा बिर्सनु हुँदैन । पार्टीले पार्टी संरचनामा व्यापक फेरबदल गर्न जरुरी छ । त्यो मेरिट र केन्द्रियताले हुन सक्दैन । त्यसका लागि खुल्ला प्रतिस्पर्धात्मक सांगठनिक प्रणाली अवलम्बन गर्नैपर्छ । यो नोकिया १६०० मोडेलको समय होइन । यो समय एन्ड्रोइड तथा एप्पल ‘५जी’ को हो । अहिले माओवादी आन्दोलन विकास ‘ब्ल्याक एन्ड व्हाइट’ मोडेलले गर्न सक्दैन । यसका लागि ‘५जी’ नै माेडल चाहिन्छ भन्ने कुरा नेतृत्वले बुझ्न जरुरी छ ।

यदि परम्परागत ढंगले जाने हो भने हामी मशालको भाइ पार्टी हो । हामी पनि मशाल नै बन्ने हो भने जे गर्दा पनि हुन्छ । अध्यक्ष प्रचण्डसँग एक अन्तिम अवसर छ, माओवादी नेपालको मियो बनाउने वा मशालको भाइ । उहाँले गम्भीर रुपले सोच्नुपर्ने बेला आएको छ । अहिले पनि आमनेपाली र युवालाई बिश्वास छ अध्यक्ष प्रचण्डले मशालको भाइ होइन देशको भविष्य र युवाहरुको सपना कोर्न सक्ने पार्टी माओवादीलाई बनाउनु हुनेछ भनेर। त्यसकालागि उहाँले निर्ममतापुर्वक कदम चाल्नु हुनेछ । अब प्रचण्डको एकदशकले नेपालको कम्युनिस्ट आन्दोलनमा दशौंदशकसम्म माओवादी आन्दोलनलाई नेतृत्वमा पुर्‍याउने छ । त्यसका लागि अध्यक्ष प्रचण्डले युवाहरूलाई साथमा लिनुहुनेछ र उहाँ युगौंसम्म नेपाली राजनीतिमा रहिरहनु हुनेछ ।

कमेन्ट गर्नुहोस्