माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, पार्टी संगठन र मन्त्री चयनबारे आवश्यक निर्णय हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
आज दिउँसो ३ बजे बैठक बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

आजको बैठकमा केन्द्रीय समितिपछिको स्थायी समिति बैठकले गरेको सर्कुलर अनुसार, पार्टीका बिभिन्न तहका जिम्मेवारीका विषयमा भएको प्रगतिलाई निर्णायार्थ छलफल गरिने बताइएको छ । माओवादीले कतिपय केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको भएपनि कतिपय प्रदेशमा जिम्मेवारी तोक्न सकेको थिएन । यसैगरी अन्य जनवर्गीय संगठन, विभाग तथा एकता प्रक्रियाबाट आएकाहरुको जिम्मेवारी लगायतका विषयमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल समेत गठन गरेको थियो ।

आजको बैठकले तीन सदस्यीय कार्यदलको प्रतिवेदनलाई अन्तिम रुप दिने बताइन्छ । कार्यदलले हिजो सोमबार नै अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

यसैगरी पार्टीका बिभिन्न विभागहरुलाई समेत पूर्णता दिने काम भएको छ । पार्टी कार्यालयले दिएको जानकारी अनुसार, सबैजसो प्रदेशले विभागका लागि नामावली पठाइसकेका छन् ।

आजको स्थायी समिति बैठकले सरकारमा पठाउने सांसदहरुको बारेमा समेत अन्तिम निर्णय गर्ने बताइन्छ । यसअघि कतिपय नामहरु चर्चामा भएपनि सरकारमा पठाउने मन्त्रीहरुका बारेमा निर्णय गर्न अध्यक्ष प्रचण्डलाई नै जिम्मा दिइएको थियो ।

यसैगरी निर्वाचन आयोगसँग सम्बन्धित प्राविधिक प्रकृतिका निर्णय समेत आजको बैठकमा हुने बताइन्छ ।

कमेन्ट गर्नुहोस्