बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित, सरकारी खर्च राेकिनसक्ने

काठमाडौं । संशोधनसहितको बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

मंगलबारको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले नाराबाजी गरेका थिए ।

नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको ‘विनियोजन विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरिएको छ । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक असोज ४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ । त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापन विधेयकलाई विरोधकै बीच अघि बढाएको हो ।

सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।

त्यसपछि केहीबेर बजेट छलफल भयो । सभामुखले उठेका प्रश्नको जवाफ दिन बोलाएका अर्थमन्त्रीले जवाफ नदिइ छलफलमा सहभागी भएकोमा धन्यवाद मात्रै भन्नुभयो ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि अर्थमन्त्री जनार्दन शर्माले ५/७ दिन खर्च नहुनसक्ने बताए।

‘कर उठाउन विशेष व्यवस्था रहेकोले त्यसअनुसार कर उठाउन सकिन्छ,’ उनले भने, ‘तर, ५/७ दिन खर्च नहुन पनि सक्छ। रोक्नुपर्ने अवस्था आए रोकिन पनि सक्छ।’

पेश्की खर्च नगरेर नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने उनले बताए।

कमेन्ट गर्नुहोस्