लेखराज कसरी सुदुरपश्चिम इन्चार्ज हुन्छन् ? ओलीले भट्टलाई मातहतमा राखेर काम गर्नुस् भनेका हुन्– भीम रावल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लेखराज भट्ट सुदूरपश्चिमको पार्टी इन्चार्ज नभएको बताएका छन् ।

“सुदूरपश्चिमको विवादबारे बालकोटमा छलफल भएको हो ।” रावलले आज कार्यकर्ता भेटघाटका क्रममा भने, “तर इन्चार्जबारे कुनै निर्णय भएको छैन । जेठ २ मा फर्किने १० बुँदे सहमति पार्टीले कार्यान्वयन गरिरहेको अवस्थामा लेखराज कसरी इन्चार्ज हुन्छन् ?”

अध्यक्ष ओलीले लेखराज र कर्ण थापालाई मेरो मातहतमा राखेर समस्या समाधान गर्नुस् भनेर भनेको रावलले बताए । “अध्यक्ष कमरेडले मलाई सुदूरपश्चिममा तपाईलाई समस्या भए पार्टी उपाध्यक्षकै हैसियतमा संयोजन गर्नुस्, भने” रावलको भनाई थियो, “कर्ण थापा र लेखराज भट्ट० लाई परिचालन गर्नुस् । विवाद भएको ठाउँमा हामी कुरा गरौँला ।’

उपाध्यक्ष रावलले १० बुँदे सहमती कार्यान्वयन गर्न आफ्नो संयोजकत्वमा थापा र भट्ट रहनेगरि समिति गठन गरेको भएपनि इञ्चार्जको बिषयमा भने ठोस कुरा नभएको बताए ।

इन्चार्जको विषयमा दश बुँदे अनुसार नजाने अवस्थामा पनि लेखराजले सोझै दावी गर्न नमिल्ने उनको भनाई थियो । यो विषयमा पार्टीमा निर्णय भएको छैन । महासचिव या अध्यक्षले लेखराजलाई इन्चार्ज बनाउने प्रस्ताव ल्याएको खण्डमा पार्टीमा छलफल भएपछि निर्णय हुने उनले बताए ।

१० बुँदे अनुसनर आफूनै इञ्चार्ज हुनुपर्ने रावलको दाबी छ। माओवादीबाट एकता प्रकृयामै आएको हुँदा भट्टले पनि इञ्चार्जको दाबी गरेका छन् । भट्टले बुधबार कञ्चनपुर पुगेर अध्यक्ष ओलीले भीम रावललाई संयोजनको काम गर्न र आफूलाई इञ्चार्जको जिम्मेवारी दिएको बताएका थिए ।

यसअघि नेकपा छँदा अध्यक्ष प्रचण्डले सुदूरपश्चिमको नेता भीम रावल हुन वहाँसँग समन्वय गरेर काम गर्नुहोला भनेर कार्यकर्तालाई भनेको भन्दै लेखराज रिसाएका थिए । सोही विषयले प्रचण्डसँग दूरी बढेको लेखराजले आफु निकटलाई बताउँदै आएका छन् । तर अहिले उनी इन्चार्ज समेत नपाउने अवस्थामा भीम रावलको मातहतमा कसरी बस्न सक्छन् भन्ने कुरा कार्यकर्ताले प्रश्न गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्