एमाले बाग्मतीमा पनि लफडा, अष्टलक्ष्मी र रामबहादुरबीच इन्चार्जको विवाद

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेशमा समेत इन्चार्ज को हुने भन्ने विषयमा विवाद सुरु भएको छ ।

सुदूरपश्चिममा भीम रावल र लेखराज भट्टबीच इन्चार्जको विवाद चलिरहेको बेला बाग्मती प्रदेशमा समेत अष्टलक्ष्मी शाक्य र रामबहादुर थापाबीच विवाद चर्केको हो ।

नेकपा एमालेले जेठ २ मा फर्किने भन्दै दश बुँदे सहमति गरेपछि विवाद चर्किएको हो ।

जेठ २ मा फर्किने अवस्थामा अष्टलक्ष्मी शाक्य इन्चार्ज हुनुपर्ने हुन्छ । तर यसअघि नै ओलीले रामबहादुर थापालाई बाग्मती प्रदेश इन्चार्ज तोकेका कारण उनले त्यो पदमा दावी गरेका छन् ।

गत फागुनमा नेकपाको एकीकरण खारेज भएपछि अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज माओवादी छोडेर आएका लेखराज भट्ट र बाग्मतीको जिम्मेवारी रामबहादुर थापालाई दिएका थिए। त्यतिबेला रावल र शाक्य नेता माधवकुमार नेपालको समूहमा थिए, उनीहरूले त्यो निर्णय मानेका थिएनन्।

१० बुँदे सहमति भएपछि एमाले अब २०७५ जेठ २ मा फर्किएको बताउँदै नेता नेपालको साथ छोडेका रावललाई यही साता अध्यक्ष ओलीले निराश बनाए। ओलीले सुदूरपश्चिमको इन्चार्ज भट्ट नै भएको बताए । तर रावलले भने यस विषयमा कुनै पार्टी निर्णय नभएको भन्दै लेखराजलाई इन्चार्ज मान्न अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री पद पाएपछि माधवको साथ छोडेर ओलीतिर लागेकी अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि अहिले त्यही समस्या परेको छ।
बिहीबार काठमाडौं आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा प्रदेश कमिटी इन्चार्जको रूपमा बादलले आसन ग्रहण गरेका छन्।

उदघोषकले उनलाई सम्बोधनका लागि बोलाउँदा पनि बागमती प्रदेश कमिटीका इन्चार्ज भनेर बोलाएका थिए ।

उपाध्यक्ष शाक्य पनि उक्त कार्यक्रममा पुगेकी छन्। उनलाई भने सञ्चालकले बागमती प्रदेशकी मुख्यमन्त्री र एमाले उपाध्यक्षको हैसियतमा आसन ग्रहण गर्न भनिएको थियो।

माधव नेपालको साथ छोडेर एमालेमै रहेका नेताहरूले १० बुँदेको कार्यान्वयन हुने र त्यसले एमालेलाई २०७५ जेठ २ मा लैजाने बताउँदै आएका छन्।

अध्यक्ष ओली र उनको समूहका अरू नेताले भने एमाले जेठ २ को अवस्थामा पूर्ण रूपमा फर्किन नसक्ने र माओवादी केन्द्रसँगको एकताका आधारमा नेकपाको लिगेसीसहित अघि बढ्ने तर्क गर्दै आएका छन्।

माओवादीबाट आएका भट्ट, बादल, टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहलाई एमाले स्थायी कमिटी सदस्य बनाइएको छ। उनीहरूलाई गत फागुन २८ मा स्थायी कमिटी सदस्य नियुक्त गरिएको हो।

कमेन्ट गर्नुहोस्