स्कूल नखोल्न काठमाडौं जिल्ला प्रशासनको आदेश, सभा-जुलुस र भाेजभतेरमा पनि रोक

काठमाडौं । कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै काठमाडौं जिल्ला प्रशासनले तत्कालका लागि विद्यालय नखोल्न निर्देशन जारी गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने बताएको हो ।

यसअघि महानगरपालिकाले आवश्यक ठानेमा विद्यालय सञ्चालन गर्ने बताएपनि कोरोनाको त्रास कायमै रहेकोले संक्रमणको विश्लेषण गरेर मात्रै स्कूल खोल्न पाइने भएको हो । पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । यति मात्र होइन, शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने बताएको छ ।

आज जारी आदेशमा सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ ।

यस्तै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।

यसबाहेक निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

कमेन्ट गर्नुहोस्