दोधाराचाँदनीमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, केही प्रहरी घाइते

महेन्द्रनगर। नेपाल भारत सीमावती क्षेत्रमा प्रहरी र तस्करबीच भीडन्त भएको छ ।

सोमबार साँझ करिब ८ बजेतिर महाकाली पारिको दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् ।

सुक्खा बन्दरगाह बनाउन प्रस्तावित गरिएको उक्त क्षेत्रमा तस्करहरु व्यापकरुपमा सक्रिय हुने बताइन्छ ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० वीरेन्द्र ऐरले जानकारी दिए ।

एसपी ऐरका अनुसार, नियन्त्रणमा लिने प्रयास भने असफल भएको छ । नेपाल प्रहरीले भारतीय प्रहरीसँग तत्काल सम्पर्क गरेपनि तस्करहरु भागेका थिए ।

तस्कर समूहको पहिचान भइसकेको प्रहरीको दावी छ ।
नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्करको समूहबाट आक्रमण हुँदै आएको छ । पर्याप्त पूर्वतयारीको अभाव र दुवै देशका सुरक्षा अधिकारीबीचको कमजोर समन्वयका कारण यस्ता घटना दोहोरिदै गएको अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्