केपी ओलीको पापी मन, क्षुद्र बोली र कुरुप दृष्टिकोण

सन्तोष बिसी । संसारमा केही मानिसहरु मन नभएका हुन्छन् । यस्ता मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि बोलिदिन्छन्, जस्तो पनि गरिदिन्छन् ।

व्यक्तिगत स्वार्थका लागि उनीहरुले जस्तोसुकै सम्झौता पनि गरिदिन्छन र अरुलाई जस्तोसुकै नीच र क्षुद्र भाषामा गाली पनि गर्न सक्छन् ।

मानवीय संवेदना शून्य हुँदा केही मानिसहरु यसप्रकारको व्यवहार व्यक्त गर्दछन् ।

अचम्म त त्यतिखेर लाग्छ, जब देशको प्रधानमन्त्री भइसकेका व्यक्ति नै यति असभ्य र क्षुद्रतामा उत्रिन्छन् ।

अहिले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तै क्षुद्रता देखाएका छन् ।

क्षुद्रता पनि यतिविधि कि त्यसको मानवीय पक्ष निकै कुरुप रहेको छ ।

केपी ओलीको कुरुप मनले सरकारले बाँडेका पदकका बारेमा निकै तल्लोस्तरका टिप्पणी गरेको छ ।

नेकपा माओवादी केन्द्रकी सल्लाहकार तथा अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई सरकारले विभुषण दिने घोषणा गर्यो । यो कुनै नयाँ र त्यस्तो अनौठो लाग्ने कुरा थिएन । कुनै बेला प्रचण्डकै आडभरोसामा कुर्सीमा टाँसिन पाइरहेको बेलासम्म तिनै सीता दाहाल केपीका लागि सम्माननीय थिइन । पद पाउँदासम्म उनले कहिल्यै पनि प्रचण्डको खोइरो खनेनन् । त्यही प्रचण्डकै कारण उनले अढाई वर्षपछि पनि प्रधानमन्त्री हुन पाए । ओलीलाई सीता दाहाल को हुन र नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमो उनको योगदान के छ राम्रैसँग थाहा छ ।

तर ओलीको कृतघ्न मनले अहिले भने तिने सीता दाहाललाई गाली गरिरहेको छ । मानौं कि सीता दाहालको यो देशमा कुनै योगदान छैन । पार्टीमा सामान्य राजनीतिक पृष्ठभूमि भएकाहरुलाई उचालेर शीर्ष स्थानमा पुर्याउने बानी परेका केपी ओलीका लािग सीता दाहालको योगदान रौं बराबर पनि लागेन । किनभने अहिले उनले प्रचण्डको आड पाएका छैनन र प्रचण्डका कारण उनको कुर्सी जोगिने अवस्था पनि छैन ।

तर यदि यही विभुषण उनी प्रधानमन्त्री भएको वर्ष नै दिएको भए के उनले अहिलेका क्षुद्र शब्द व्यक्त गर्थे ?

कदापी गर्ने थिएनन् किनभने त्यतिबेला कुर्सीका लागि उनले कसरी झुक्नुपर्छ भन्ने राम्रोसँग बुझेका छन् । नेकपा विवादपछि भारतीय जासुसी संस्थाको डिजाइन अनुरुप एकपछि अर्को कदम चालेका ओलीलाई यो राम्रोसँग थाहा छ ।

केपी ओलीको बोली सीता दाहालका लागि मात्रै तीतो होइन, उनले आफूलाई योगदान गर्ने हरेकलाई यसैगरि घात गर्ने गरेका छन् । तत्कालिन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले त यो विषयमा बारम्बार भन्ने समेत गरेका छन् । पार्टी अध्यक्ष बन्न वामदेवले के योगदान गरे त्यो एमाले र खासगरी केपी समूहवालाई राम्रैसँग थाहा छ । तर पापी मन भएका केपीको डिजाइनमा तिनै वामदेवलाई बर्दियाबाट हराईयो ।

त्यसपछि पनि वामदेवलाई बारम्बार कार्डका रुपमा प्रयोग गरियो ।

अहिले ओलीले माधव नेपालहरुमाथि विषवमन गरिरहेका छन् । तर माधवहरु भन्दा चर्को आलोचना गर्ने भीम रावलहरुलाई काखी च्यापेका छन् । किनभने भीम रावलहरुबाट केपी ओलीले स्वार्थ लिनु छ । तर भोली यिनै भीम रावलहरुलाई केपीले रछ्यानमा मिल्काउनेछन् । किनभने केपी ओलीको मुख्य विशेषता नै कृतघ्न हुनु हो ।

गत साता मात्रै कुनै बेला केपी ओलीको भजन गाउँदै हिँडने विद्यार्थी नेता नवीना लामाले निकै दुखेसो पोखिन । हिजोसम्म लामाको संघर्ष र योगदानलाई केपी पक्षले राम्रैसँग उपयोग गर्यो । तर अहिले उनलाई रछ्यानमा पुर्याउने षडयन्त्र भएपछि उनले केपी ओलीको बिरोध शुरु गरेकी छिन् ।

केपी ओलीको बोलीको छुद्रताको कुनै सीमा छैन । यही कारण कतिपयले उनको मानसिक अवस्थाबारे समेत टिप्पणी गर्ने गर्दछन् । तर यो क्षुद्रता उनको स्वास्थ्यले हैन, यो उनको स्वभाव हो, प्रवृत्ति हो ।

ओलीले एउटा भजनमण्डलीको झुण्ड तयार गरेका छन, त्यसकै आडमा उनी बर्बराउँछन । जे पायो त्यही बोल्छन्, मर्यादा कायम गर्न उनले सिकेका छैनन् । बरु पार्टी भत्कियोस, कम्युनिष्ट आन्दोलन तहसनहस होस्, उनलाई यो सँग कुनै मतलब छैन । आफ्नो इगो साँध्न पाए पुग्यो र त्यो इगो पुरा गर्न जस्तोसुकै गाली पनि गर्न पाइयोस् ।

सीता दाहाल हुन या अन्य इतिहासको कालखण्डमा विशिष्ट भूमिका खेलेका पात्रहरु हुन, केपी ओलीले यो योगदान बुझ्दैनन् । किनभने उनले कहिल्यै पनि संगठन र संघर्ष गरेनन् । उनी जेलमा बसे, तर उनले जनतामाझ जाने मौका पाएनन् । झन जनयुद्दको भीषण मोर्चामा होमिनु त उनले कल्पना पनि गर्न सक्दैनन् । तर यी सीता दाहाल अहिले अशक्त भएपनि उनले युद्धका हरेक मोर्चा छिचोलेकी छिन् । हरेक संघर्षमा अग्रमोर्चामा उभिएकी छिन् । र, त्यो भीषण मोर्चामा उनीहरु यसरी अटल भएर नउभिएको केपी ओलीहरु अहिले पनि संवैधानिक राजतन्त्रको बयलगाडा वरिपरि नाचिरहेका हुन्थे ।

केपी ओलीले हिन्दू धर्मको निकै वकालत गर्छन् । उनले पशुपतिमा जलहरी चढाउनेदेखि राम मन्दिर बनाउनेसम्म कुरा गर्छन् । तर हिन्दू धर्मको सामान्य आचारण समेत उनले पालना गर्न सक्दैनन् । संवेदना, भावना, मानवीय मूल्यसँग उनको कुनै साइनो देखिन्न ।

कमेन्ट गर्नुहोस्