हिजो जनयुद्धमा हाम फालेँ, अब समाजवादी क्रान्तिमा हाम फाल्छु- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको बाँकी जीवन समाजवादी क्रान्तिका पक्षमा योगदान गर्ने बताएका छन् ।

वाइसिएल नेपाल काभ्रे नगरसम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू यथास्थितिमा बस्न नरुचाउने बताए ।

‘एकचोटी फेरि हाम्फाल्छु, हिजो जनयुद्धमा हामफालेँ, अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ, त्यसपछि संविधान बनाउन र पार्टी एकतामा हामफालियो । अब फेरि समाजवादी क्रान्तिको निम्ति म चाहीँ हामफालेँ फालेँ अब’ उनले भने ।

अरुलाई आलोचना गर्नुको साटो आफूलाई नै सच्याउनुपर्नेमा उनको जोड थियो । अरुले बिगार्यो भन्नु भन्दा पनि आफूलाई नै समीक्षा गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । ‘सबैले अरुले विगार्यो, यो फटाहा हो भन्नुभन्दा मैले के बिगारेँ भनेर सोच्न थालियो भने त्यहीबाट रुपान्तरण सुरु हुन्छ’ प्रचण्डले माओवादी नेता कार्यकर्तालाई सच्चिन आग्रह गर्दै भने, ‘भ्रष्टाचार गरिएको छ, ठगठाग खुब गरिएको छ । ठेक्कापट्टा पाउन मरिहत्ते, कमिसन खान मरिहत्ते गर्ने अनि म बिग्रेको छैन भन्ने प्रवृत्ति बढेको छ ।’ प्रचण्डले यसो भनेपनि माओवादी पार्टी क्रान्तिकारी नहुने पनि बताए ।

‘म अब बन्छु भनेर सुरु गरियो भने सबै बन्छन् । त्यसपछि क्रान्तिकारी पार्टी बन्छ । त्यसो भएर म चाही हामफालेँ अब । कति वर्ष बाँचिन्छ । पुरै ज्यान छोडेर समाजवादी क्रान्तिका निम्ति युवाहरुको नेतृत्व गर्छु म’, प्रचण्डको दावी छ ।

कमेन्ट गर्नुहोस्