एनआरएनए केन्द्रिय अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा वर्तमान उपाध्यक्ष रविना थापाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छन् । विहिबार काठमाडौंको याक एन्ड यति होटलमा एक पत्रकार सम्मेलन आयोजना गरी एनआरएनए आईसीसीको लागि आगामी अक्टोवर २० तारिखमा हुन लागेको निर्वाचनमा उनले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी हुन् । ।

घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । ‘ यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’

थापाले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन् । ‘एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्’ थापाले भनिन् ।

उनले परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको बताइन् । ‘समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ’ थापाले भनिन् ।

कार्यक्रममा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । भर्चुअल रुपमा सम्बोधन गर्दै जापानका ओम गुरुङले सचिव पदमा उम्मेदवारी दिने बताएका छन्।

कमेन्ट गर्नुहोस्