कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाएर लग्यो– नेराकस भक्तपुर

भक्तपुर, नेपाल राष्ट्रिय कर्मचारी संगठन भक्तपुरले संगठनमा रहेका अवसरवादी र कार्वाहीमा परेकाहरुले संगठन परित्यागको नाटक गरेकोप्रति कडा आलोचना गरेको छ ।

शुक्रबार सम्पन्न भक्तपुर जिल्ला कमिटीको बैठकमा संगठनका केन्द्रीय सचिवालय सदस्य राजु रानाले संगठनबाट बाहिरिएकाहरुपैति लक्षित गर्दै कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाएको टिप्पणी गरे । “हामीले गलहत्याउनुपर्नेहरु आफै उतातिर लागे । कसिंगरलाई हावाले उडाइसकेकोले कुचो लगाउनु परेन ।” उनले भने, “कर्मचारीको हक हितभन्दा व्यक्तिगत स्वार्थमा लागेकाहरु संगठनबाट बाहिर गएका हुन । यसले हामीलाई झन सुदृढ हुन बल पुगेको छ ।”

नेकपा माओवादी केन्द्र निकट रहेको कर्मचारी संगठनले कर्मचारीको समग्र हक हित र अधिकारका लागि जुझारु संगठन निर्माणको संकल्प समेत लिएको छ । उक्त अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा बाग्मती प्रदेश इन्चार्ज शेर बहादुर कार्कीले आगामी मंसिरमा हुँदै गरेको महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा अब छिट्टै सम्मेलनको तयारी गर्न र नयाँ सदस्यता र सदस्यता नविकरण गरि जिल्ला सम्मेलनको तयारिमा लाग्न निर्देशन दिएका थिए ।

केही दिनअघि नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनले यसअघि नै कार्वाही गरेका केही व्यक्ति एमाले निकट कर्मचारी संगठनमा प्रवेश गरेका थिए । संगठनभित्र पदका लागि मात्रै झगडा गर्ने तर समग्र संस्थाको हितका बारेमा कुनै योगदान गर्न नचाहनेहरु एमालेमा गएको रानाको टिप्पणी थियो ।

संगठनले परिवर्तनका हरेक आन्दोलनाम अग्रणी भूमिका खेल्दै आएको छ । प्रतिगमनविरुद्धको आन्दोलनमा संगठनको उल्लेख्य भूमिका रहेको थियो ।

नेराकस भक्तपुर जिल्ला कमिटी अध्यक्ष छत्र देवकाेटाकाे अध्यक्षतामा सम्पन्न बैठककाे सचिव माेहन रानाले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्