तेश्रो धार हेरेको हेर्‍यै, आजको केन्द्रीय समिति बैठकले प्रतिवेदन पारित गर्ने, आजै ओलीले जवाफ दिने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबार पुन: बस्ने भएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे शुरु हुने बैठकमा हिजो समूहगत छलफलका क्रममा उठेका जिज्ञासाहरुको जवाफ नेताहरुले दिने कार्यक्रम रहेको छ ।

शनिबार सुरू भएको बैठकमा राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल गरिएको थियो।

त्यसका लागि १० वटा समूह विभाजन गरिएको थियो। समूहले छलफलको निष्कर्ष सुनाएका थिए।

ती निष्कर्षको जवाफबारे आइतबार पुन: बस्ने बैठकमा अध्यक्ष केपी णलीले जवाफ दिने नेता योगेश भट्टराईले बताए।

धेरैले उपाध्यक्ष संख्या बढाउनु पर्ने, केन्द्रीय समितिको संख्या बढाउनुपर्ने, पार्टीलाई नेकपा एमालेको निरन्तरताको रूपमा बुझ्नुपर्ने र त्यही अनुसार प्रतिवेदन तयार गर्न सुझाव दिएका थिए। यस्तै उनीहरूले पदाधिकारी दुईभन्दा बढी पटक हुन नहुने र कार्यकारी पदमा दुई पटकभन्दा बढी राख्न नमिल्ने गरी बनाउनुपर्ने सुझाव दिएका थिए।
नेताहरूको जवाफपछि बैठकले प्रतिवेदन पारित गर्ने छ । गत शुक्रबारदेखि सुरु बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए । यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेस हुने छन् ।
एमाले केन्द्रीय कमिटीको बैठकमा माधव नेपालको साथ छोडेर एमालेमैं बसेकाहरुको एजेण्डा भने समावेश गरिएन । पार्टी अध्यक्ष ओलीले दश बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटी बैठकमा कुनै छलफल नहुने बताएका थिए । यति मात्रै होइन, बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफलका लागि बनाइएका समूहहरुको टोली नेता समेत तेश्रो धारबाट कसैलाई बनाइएन । टोली नेताहरुले समूहको छलफल प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्