स्थायी कमिटीको अनौपचारिक बैठकमा भीम रावलः जे जे मन लाग्छ गर्नुस, म तत्काल केही बोल्दिन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले केही समय मौन बस्ने बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा आफूहरुले राखेको प्रस्तावलाई छलफलको एजेण्डाका रुपमा प्रस्तुत नगरिएपछि असन्तुष्ट नेता रावलले केही समयका गतिविधि हेरेर मात्रै प्रतिक्रिया दिएका हुन ।

केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला आज च्यासलमा एमालेका स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफल भएको थियो । उक्त छलफलमा नेता रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्नेत बताएका हुन्।

बैठकमा उपस्थित एक नेताका अनुसार रावलले मौनताको समेत अर्थ रहने बताएँदै तत्काल केही नबोल्ने बताएका हुन ।

दश बुँदे सहमतिअनुसार पार्टीलाई २०७५ जेठ २ को संरचना अनुसार अगाडि बढाउने सहमति भएपनि उक्त सहमति पालना नहुँदा रावलकै इन्चार्ज पद धरापमा परेको छ । सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट रहेको कुरा अध्यक्ष ओलीले घोषणा गरेपछि रावल झनै असन्तुष्ट बनेका थिए ।
यसैगरी बागमती प्रदेशमा पनि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ लाई इन्चार्ज बनाइएको छ।

उपाध्यक्ष रावलले केन्द्रीय कमिटी बैठकमा यो विषयलाई छलफलको एजेण्डा बनाउनुपर्ने आवाज उठाएपनि ओलीले यसबारेमा स्थायी कमिटी बैठकबाट निर्णय गर्ने बताएका थिए।

स्थायी कमिटी सदस्यको छलफलपछि अहिले एमाले केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

असोज १५ देखि हुने विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको छ।

प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ। ती छलफलका क्रममा उठेका प्रश्नको आज जवाफ दिने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्